काठमाडौँ — गुन्डा नाइकेका रूपमा परिचित मिलन गुरुङ ‘चक्रे मिलन’ गएराति राजधानीको महाराजगन्जस्थित होटल साम्बालाबाट पक्राउ परेका छन्।
बिहीबार राति जन्मदिन मनाउन गएका मिलनलाई जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले होटलमै पुगेर नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट मिलनसहित उनका केही सहयोगीलाई समेत पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार ठमेल र महाराजगन्ज क्षेत्र आसपास सक्रिय रुपमा गुण्डागर्दीमा संलग्न रहेका ४७ जनालाई एकैसाथ नियन्त्रणमा लिएको छ।
यसअघि पनि मिलन २०७४ सालको वैशाख २६ गते महाराजगन्ज क्षेत्रबाटै पक्राउ परेका थिए। केही समयपछि उनी रिहा भएका थिए।
पक्राउ परेका व्यक्तिहरूलाई हाल सोधपुछका लागि प्रहरी परिसरमा राखिएको छ।



















