मोरङ — मोरङको केरावारी गाउँपालिका–३, भोगटेनीकी पुजा मगर अहिले गाउँमै “स्ट्रबेरी युवती” भनेर परिचित छिन्। परम्परागत मकै–कोदो खेतीले परिवारको खर्च धान्न नसक्दा ऋणमा गुज्रिरहेको उनको घरधुरी अहिले स्ट्रबेरी खेतीबाट आत्मनिर्भर बन्दै गएको छ।
कृषि प्राविधिक दाजु निर्मल मगर र समाजसेवी आमा पूर्णकुमारी मगरको साथ पाएपछि पुजाले करिब तीन वर्षअघि रहरमै गमलामा स्ट्रबेरी रोपेर सुरुवात गरिन्। त्यही रहरले अहिले गाउँकै प्रमुख आयस्रोतको रुप लिन पुगेको छ।
पुजाको स्ट्रबेरी यात्रामा टेवा मिलायो — मेनोनाइट सेन्ट्रल कमिटि नेपाल र ब्रेड फर द वर्ल्ड जर्मनीको सहयोगमा पहाडी ग्रामीण विकास संस्था (हर्डन) मार्फत सञ्चालित “युवा सशक्तीकरण तथा पर्यावरणमैत्री उद्यम परियोजना”ले। सोही परियोजनाअन्तर्गत युवा सचेतना समूहमा आवद्ध भएपछि उनले कृषि तालिमसहित सहुलियत ऋण पाइन।
पहिलो वर्ष बेर्ना उत्पादनमा ध्यान दिएकी पुजाले दोस्रो वर्ष करिब ३ रोपनीमा व्यावसायिक खेती सुरु गरिन्। त्यहाँबाट करिब ३ लाख रुपैयाँ आम्दानी भयो। गत वर्ष २ लाख ५० हजार रुपैयाँ कमाइन्। हालसम्म दुई वर्षमा स्ट्रबेरी खेतीबाट मात्रै उनको परिवारले ५ लाखभन्दा बढी आम्दानी गरेको छ। दाजुभाइको पढाइ, घरखर्चदेखि स्कुटरसम्म किन्ने सामर्थ्य उनीहरुले यसै आम्दानीबाट जुटाए।
स्थानिय व्यापारीहरु नै घरमै आएर स्ट्रबेरी प्रति किलो ४५० रुपैयाँमा खरिद गर्ने भएकाले बजार खोज्नुपर्ने झन्झट छैन्। गाउँकै अन्य कृषकले समेत प्रेरणा लिएर गत वर्ष करिब ५ लाख बराबरको स्ट्रबेरी बिक्री गरे। अहिले भोगटेनी गाउँमै बेर्ना सार्ने काम तीव्र गतिमा भइरहेको छ।
स्ट्रबेरी खेती विस्तारसँगै परिवारले मल व्यवस्थापनका लागि १ गाई र ३० बाख्रासमेत पालेका छन्।
पुजाको सफलतालाई देखेर केरावारी गाउँपालिका र वडा नं. ३ कार्यालयले भोगटेनीलाई “स्ट्रबेरी गाउँ” घोषणा गर्ने तयारी थालेका छन्। कृषि तथा सहकारी विकास शाखाका प्रमुख टेकप्रसाद बास्तोलाका अनुसार पालिकाले मल्चिङ प्लास्टिक, पानी राख्ने ड्रमलगायत सामग्री वितरण गर्दै आएको छ।
केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले भने, “समूहमार्फत योजना ल्याए पालिकाले उत्पादनदेखि बिक्रीसम्म सहयोग गर्नेछ। परम्परागत खेतीभन्दा नयाँ पद्धतिबाट आम्दानी बढ्दा गाउँको जीवनस्तर पनि उकासिन्छ।”



















