प्रा.डा. टङ्कप्रसाद न्यौपाने (भाषाशास्त्री) प्रजातान्त्रिक आन्दोलनमा सक्रियताका साथ लागिपर्दै र समर्थन गर्दै प्रजातन्त्र पुनःस्थापनाका लागि लडेका प्राज्ञिक व्यक्तित्व हुन् । धरानका स्थायीवासिन्दा प्रा डा न्यौपाने यहाँको भौगोलिक, ऐतिहासिक, सामाजिक र राजनीतिक परिदृश्यलाई मसिनो गरी केलाउन सक्ने व्यक्तित्व एवम् राजनीतिक विश्लेषकसमेत हुन् । प्रजातान्त्रिक र वामपन्थी आन्दोलनलाई नजिकबाट बुझेका उनीसँग धरान उपनिर्वाचनका सन्दर्भमा यहाँको वस्तुस्थितिबारे गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

चुनावी उत्साह कस्तो देख्नु भा’छ ? यो अवस्थामा जनताको अपेक्षा के पाउनु भाछ सरले ?
–यो निर्वाचनमा राजनीतिक दलमा निकै उत्साह देखिएको छ । तर जनतामा उत्साह छैन । निर्वाचन हुनुपर्नेथ्यो । हुँदैछ । विगतजस्तै प्रजातान्त्रिक र वामपन्थी उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ । धरान वामपन्थीको गढ र विरासतका रुपमा अझै पनि रहेको छ ।
जनताको आकांक्षाबारे सोध्नुहुन्छ भने, बडो गम्भीर छ । उहाँहरू नरिसाउनुहोस्, धरान उपमहानगरपालिका कमजोर भइसकेको छ । २० वर्षसम्म निर्वाचन नहुँदा कर्मचारीतन्त्र हाबी भयो । संयन्त्र हाबी थियो, त्यसलाई कर्मचारीतन्त्रले सञ्चालन गर्दथ्यो । बल्लबल्ल निर्वाचन भयो । तर विचरा मेयर मरिहाले । धरानमा धेरै कामहरु छन् । पहिलो कुरो धरान फराकिलो भयो । पानवारी, विष्णुपादुका धरानभित्र परे । कसरी जोड्ने ? बाटो जोडेरमात्र हुँदैन ।

मनोविज्ञान पनि जोड्नु प¥यो । हामी धरानेली हौं भन्ने अनुभूति उनीहरुमा हुनुप¥यो । यो बजारमात्र धरान होइन । यो कुरो बुझ्ने मान्छ चाहिन्छ । धरानमा बसपार्कको समस्या समाधान हुन सकेन । खाली शिलान्यास मात्र भयो । बजारका बीचमा कहीँ पनि बसपार्क हुँदैन । यहाँ छ । यसले गर्दा यातायात अव्यवस्थित छ । टूाफिक जाम छ । साँच्चै आँटले बसपार्क सार्न सक्ने मान्छे चाहिएको छ । खानेपानीको समस्या छ । एडीबीको प्रोजेक्टलाई विरोध गर्नेहरु पनि छन् । उनीहरुले हर्क साम्पाङ राईलाई उठाएका छन् । स्वतन्त्र भनेर, तर जित्नेवाला त छैन । र, विरोध गरेर पनि समाधान छैन । काकाकूल भएर धरान कहिलेसम्म बस्ने ?, त्यो विरोधका कारण कतिपय वडामा पाइप पनि बिछ्याइएका छैनन् । त्यो डिसिजन गर्न सक्ने मान्छे चाहिएको छ । धराने जनताले नयाँ सोच भएको मेयरको आवश्यक्ता महशुस गरेका छन् ।

जनतामा उत्साह नभएको भन्नु हुन्छ ¥यालीमा त निकै मान्छे भेला भएका थिए ?
–०४८ सालमा हामीले गोविन्द सुब्बालाई मेयरको उम्मेदवार बनाएका थियौं । त्यतिबेला म आफैंले चुनाव सञ्चालन समितिको जिम्मेवारी लिएको थिँए । नेपाली काङ्ग्रेसको ¥याली तत्कालीन एमालेका ध्यानबहादुर राईको भन्दा निकै नै ठूलो भएको थियो । ध्यानबहादुर राईले एक ठाउँमा भाषण नै पनि गरे ‘¥याली हेरेर नआत्तिनुस् साथी हो चुनाव हामीले नै जित्छौं ।’ नभन्दै चुनाव उनीहरूले नै जिते । ¥यालीमा बाहिरबाट मान्छे ल्याएर गर्दा पनि हुन्छ । यहाँका केही दलले त्यसै पनि गरेका छन् ।

बाहिरका मान्छे कसले ल्यायो र ? नामै तोकेरभन्दा पनि भइहाल्छ नि सर ?
–बाहिरबाट मान्छे आएका छन्, नेपाली काङ्ग्रेसले बाहिरबाट मान्छे ल्याएको छ ।

अघिल्ला निर्वाचनहरुका अनुभवले हेर्दा पनि वामपन्थीको मत र मतदाता धेरै छन् भन्न सकिन्छ तर चुनाव र यसको नतिजा भनेको जोड घटाउ र अङ्क गणितजस्तो हुन्न, भनिन्छ के भन्नु हुन्छ ?
–चुनाव भनेको जसले बढी भोट ल्याउँछ उसैले नै जित्ने हो । अङ्क गणितकै कुरा हो । अन्य अर्थ नलागोस्, मेरो भोट र एक जना मजदुरको भोट बराबर हो । मैलेमात्र भोट दिएर कसैले जित्नेवाला छैन । मजदुरले पनि भोट दिनु प¥यो । जसको मत बढी आउँछ उसले जित्ने हो । यसैले चुनावमा अङ्क गणितकै प्रभाव पर्छ । तत्कालीन एमाले र माओवादी मिसिएका छन् । नेकपा भएको छ । त्यसैले अङ्क गणित नेकपाको पक्षमा अलिकति बढी हुन्छ नै । त्यसले कम्युनिस्टलाई चुनाव जिताउनमा प्रभाव पार्छ । र, राजनीतिक इतिहास पनि ००७ सालदेखि अहिलेसम्म कम्युनिस्ट वा कम्युनिस्टले समर्थन नगरेको कुनै उम्मेदवारले जितेको छैन । पञ्चायतमा पनि कम्युनिस्टले समर्थन गरेको पञ्चले चुनाव जितेको छ । यसर्थ अङ्क गणितले चुनावमा प्रभाव नपार्ने भन्ने त प्रश्नै उठ्दैन ।

सरले ¥याली र सभालाई बजारी होहल्ला भन्नुहुन्छ, चुनावमा वास्तविक प्रभाव पार्ने क्षेत्रचाहिँ केलाई मान्नुहुन्छ ? गाउँगाउँ, बस्तीबस्तीमा पस्ने हैन त सर ?
–सुकुम्वासीहरु वामपन्थीसँग नजिक छन् । इतिहासले पनि त्यही भन्छ । कम्युनिस्ट पार्टीले आस्वस्त पारेको हुनाले सुकुम्वासीहरु वामपन्थीसँग नजिक छन् । विगतका घटनाक्रमले यही जनाउँछ । धरानको बाँझगरा, १७ नम्बरलगायतका क्षेत्र वामपन्थीका पकड भएका क्षेत्र हुन् । बजारको होहल्लाले खासै प्रभाव पर्दैन । ती सुकुम्वासी क्षेत्रबाट प्रभाव पर्छ । सुकुम्वासीहरु वामपन्थीकै मनोविज्ञानमा छन् । यसले चुनावमा प्रभाव पर्र्छ ।

धरानमा चाहिँ जातीय सेन्टिमेन्टले उम्मेदवार छानिन्छन्, जातीय भोट आउँछ भनिन्छ । जातीय मनोविज्ञानले चुनावमा कस्तो प्रभाव पार्ला ?
–जातीय नाममा भोट आउँदैन । चुनावमा काङ्ग्रेस र कम्युनिष्टको नाममै द्वन्द्व हुन्छ । उनीहरूबीचमै प्रतिस्पर्धा हुने हो । कसले जित्छ त नभनौं । तपाईंले कुरो बुझिहाल्नु भयो । तर, जातीय पार्टीहरू धेरैमुनि हुन्छन् । धेरै कमजोर हुन्छन् । जातीयताको कुराले प्रभाव पर्दैन । तिलक राई पनि राई हो नि, उ त झन किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष । उनले किरात राई यायोक्खालाई परिचालन गरेर राई जतिको भोट सबै मलाई दिनू भन्न सक्छ । तर सबै राईले किरात राई यायोक्खाले भन्यो भन्दैमा भोट हाल्दैनन् । प्रकाश राई पनि किरात राई यायोक्खासँग सम्बन्धित हो, उनी पनि राई नै हो नि त । राई, लिम्बू भन्ने कुराले भोट जान्छ भने बाहुनले प्रकाश राईलाई भोट नहाल्नु त ? पहिचानको कुरा भाषा, साहित्य, संस्कृतिसँग सम्बन्धित छ । राजनीति अलि भिन्न कुरा हो । यसकारण प्रकाश राईले जित्ने भनेको दुईवटा आधार छन् । पहिलो उनी इमान्दार मान्छे हुन् । पुराना मान्छे हुन् । शालीन व्यक्तित्व हुन् । त्यसमाथि पनि उनी व्यक्तिले जित्नेभन्दा पनि कम्युनिस्ट पार्टीले जित्ने हो । कम्युनिस्ट पार्टीले जित्यो भने त प्रकाश राईले जितिहाल्यो नि ।