युवराज बास्कोटा, पथरी शनिश्चरे नगरपालिकाका लागि नौलो नाम होइन । साविक पथरी गाविस वडा नं. ८ निवासी उहाँ जनता माविको विद्यार्थी रहेदेखि नै तत्कालीन नेकपा (माले) निकट अनेरास्ववियु (एकताको पाँचौं) बाट राजनीतिक गतिविधिमा सक्रिय सामेल रहँदै आउनुभयो । २०४८ सालको एसएसली उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका उहाँले झण्डै एक दशक लामो जीवन भारतमा बिताउनुभएको छ । स्नातकोत्तर डिग्री हासिल गर्नुभएका उहाँ २०७१ सालदेखि पथरी शनिश्चरे नपा वडा नं. १० मा बसोबास गर्दै आउनुभएको छ ।
तत्कालीन नेकपा (एमाले) भित्र अध्ययनशील र उर्जावान् छवि बनाउनुभएका बास्कोटाले एउटा सरल राजनीतिक कार्यकर्ताको रुपमा आफ्नो परिचय कमाएका छन् । एमाले र माओवादीबीचको पार्टी एकता प्रक्रियासँगै बनेको नेकपाको १ नम्बर प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेका बास्कोटा हाल उहाँका आमा बुबाको नाममा गठित संस्था र संस्थाले सञ्चालनमा ल्याएको एम्बुलेन्स प्रकरणमा मुछिनुभएको छ । यहिँ पेरिफेरीमा रहेर युवा व्यक्तित्व बास्कोटासँग गरिएको संवादको संक्षिप्त अंशहरु ....
हिजोआज के गर्दै हुनुहुन्छ ?
सामान्यतया विभिन्न विषयगत लेखपढ, अध्ययन र सामयिक विषयमाथि लेखनमा अलिक बढी समय दिने गरेको छु । योबाहेक पार्टीका नियमित कामहरुमा भूमिकाका हिसावले आफूलाई नछुटाइकन उभ्याउने गरेको छु ।
केही अनलाइन मिडियाले तपाईंलाई एउटा एम्बुलेन्ससँग जोडेर निशाना बनाइरहेका छन् नि !
हो, म पनि सुन्दै छु– २÷४ दिनयता यो विषय उठेको छ । विषयवस्तु जसरी उठेको छ, त्यहिँबाट प्रस्ट हुन्छ कि यो कति राजनीतिक सामाजिक आग्रह, पूर्वाग्रह र प्रतिशोधको भावनाबाट प्रेरित भएर आएको छ । यतिमात्र होइन, जसले समाचार बनाएको छ र सामाजिक सञ्जालमा राखेको छ, उसले आफ्ना राजनीतिक सहधर्मीमाझ यो लिंक सेयर गरेको छ वा ट्याग गरेको छ । अर्को कुरा, एम्बुलेन्स मेरो वा कसैको पनि निजी सम्पत्ति हुँदैन ।
एम्बुलेन्स मैले चाहे अनुसार व्यापार गर्ने वस्तु पनि होइन । तपाईंलाई भनु– यहाँ डा. सुनील शर्माको प्रभाव बढेसँगै हाम्रा कतिपय एम्बुलेन्स चल्न सक्ने अवस्था रहेन । तत्काल म संलग्न संस्थाले अर्को यस्तै प्रकृतिको संस्थालाई चलाउने अनुमति दियो, त्यो संस्थाको अधीनमा यो चलिरहेको छ । एम्बुलेन्सले सेवा सुविधा दिनुपर्छ । अनुचित वस्तुको ओपारपसार गर्नु हुँदैन । यसमा हामीले ध्यान दिने हो । योबाहेक एम्बुलेन्सको विषयमा धेरै माथापच्ची गर्नुपर्ने केही पनि छैन ।
यो एम्बुलेन्स प्रकरणलाई कमाउ धन्दाको आरोप छ नि ! यस्ता कतिवटा काम गर्नुभएको छ ?
हा हा हा । पहिलो कुरा त एम्बुलेन्स कमाउने साधन नै होइन । दोस्रो कुरा, एम्बुलेन्स प्रयोग आएवापत दोस्रो पक्षले पहिलो पक्षलाई दिएको न्युनतम् सहयोग शुल्कलाई हामीले सामाजिक र सेवामूलक कामका क्षेत्रमा लगाएका छौँ । के–के क्षेत्रमा लगाएका छौँ, यो दिउँसोको घामझैँ छर्लङ छ । यसलाई व्यापार भनेर बुझ्ने ?
एम्बुलेन्स भाडामा दिन मिल्दैन भन्ने कुरा आएको छ । भाडामा किन दिनुभएको त ?
कसले भन्यो भाडा ? कहाँ छ यो व्यहोरा ? यत्तिकै बोल्दिने ? कुरा के हो भने हाम्रो संस्थासँग जोडिएका सदस्यलाई वर्षमा एकपटक ५० प्रतिशत शुल्कमा सेवा उपलब्ध गराउने भनेका छौँ । यसलाई कार्यान्वयनमा ल्याउन, संस्थाका कार्यालयीय कामकाजहरु गर्न केही रकम सहयोगस्वरुप लिन्छौँ ।
यहिँ रकमबाट हामीले हामी एका आमा बुबाका सम्पूर्ण सन्तानहरु पढेको विद्यालयमा अक्षयकोष निर्माण गर्ने, विपन्न विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गर्ने, प्रकृति प्रकोपको बेला खाद्यान्य सहयोग गर्ने र अहिले आमा बुबाका समकालीन व्यक्तिहरुको जीवनी प्रकाशनमा ल्याउने काम भइरहेको छ । योबाहेक अर्को विषयवस्तु केही पनि होइन ।
कार्यविधिको प्रश्न पनि उठेको छ । यो एम्बुलेन्स कार्यविधिअनुसार चलेको छ त ?
पत्रकारले ड्राइभरसँग लाइसेन्स छ कि छैन ? भनेर सोध्ला ! यसको कुनै जवाफ हुन्छ ? कार्यविधि भनेको हाम्रो वैधानिक व्यवस्था, कार्यसमितिको निर्णय र दुई पक्षबीचको भएको हस्ताक्षरित सहमति समझदारी हो । यो संस्थासँग छ । एम्बुलेन्स सञ्चालनसम्बन्धी कार्यविधि हुने नहुने कुरा सरकारको हो, जनस्वास्थ्य कार्यालयको हो । संस्थाको होइन ।
एम्बुलेन्स अहिले कहाँ छ ? यहाँको एम्बुलेन्स शहरबाहिर किन लगियो भन्ने प्रश्न छ नि !
अहिले एम्बुलेन्स जिल्लाभित्रै छ । जिल्लाभरि सेवा सुविधा दिइरहेको छ । स्टेण्डका हिसावले यो एम्बुलेन्स नोबल अस्पताल बिराटनगर बस्छ । यद्यपि, सेवाग्राहीको चाहना र आवश्यकतानुसार यो एम्बुलेन्स चौतर्फी गुडिरहेको देखिन्छ । जहाँसम्म शहरबाहिर वा स्थानीय भन्ने कुरा छ, यो एम्बुलेन्स यहिँका लागि भनेर स्थानीय सरकार, स्थानीय संघसंस्थाले खरिद गरेको होइन । दातृ निकायले दिएको उपहार हो । गाडी दर्ता भएको जिल्ला र संस्थाको कार्यक्षेत्रभित्र कुनै पनि ठाउँमा रहेर यसले सेवा सुविधा दिन सक्छ ।
यति हुँदाहुँदै पनि मिडियाले तपाईंको संलग्नताको विषयलाई किन यसरी ल्यायो ?
म पनि आश्चर्यचकित छु । यद्यपि, यसमा ठूलो खेल छ । समाजमा मप्रति भ्रम सिर्जना गरेर मलाई खुइल्याउने वा सक्ने प्रयत्न भएको प्रस्ट छ । एम्बुलेन्सकै कुरा गर्दा अनेमसंघको नाममा चलेको एम्बुलेन्स, सहकारी संघसंस्था मातहतका एम्बुलेन्सको विषय किन समाचारको विषय बन्दैन । मलाई मात्र किन उछालियो, राम्ररी बुझेको छु, तपाईंले पनि बुझ्नुभएकै होला ! एम्बुलेन्सबारे धेरै कुरा बेलामौकामा बताइरहँदा पनि यसरी किन निशाना केन्द्रीत प्रहार भएको छ । यो आफैमा एउटा अध्ययन गर्ने विषय होजस्तो लाग्छ ।
यस प्रकरणमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नाम पनि जोडियो नि ! किन ?
हो, मलाई पनि यहिँनेर निकै असजिलो लागेको छ र मैले पनि यसलाई गम्भीर मानहानीको विषयको रुपमा बुझेको छु । मसम्बद्ध संस्था र एम्बुलेन्स चल्ने कुरामा मेरो राजनीतिक संलग्नता र नेता केपी शर्मा ओलीको नाम जोडिनुको अर्थ के हो ? बुझ्न सजिलै सकिन्छ । नेकपा नेतृत्वको सरकार र नेता केपी शर्मा ओलीको राजनीतिक वैचारिक पकड यतिखेर धेरैलाई मन परेको छैन । यसको प्रभाव यहाँ पनि प¥यो होला ! सरकारको समर्थन वा विरोध, रुचि वा अरुचि एउटा विषय हो । अधिकांश मिडियाले सरकारविरुद्धको रटानलाई आफ्नो प्रमुख कर्म बनाएकै छन्, सोहीअनुसार धर्म निर्वाह गरेका छन् ।
अन्त्यमा केही भन्नु छ कि ?
पत्रकारिता राज्यको चौथो अंग हो । यसको अर्थ जिम्मेवार बन्नु र जिम्मेवारीबोधका साथ अघि बढ्नु हो । पत्रकार, पत्रिका र यसको प्रकाशनले राज्यद्वारा जारी आचारसंहिता मातहत बाँधिएर आममानिसमा विषयवस्तुको नवीनता, विषयवस्तुसँगको निकटता, यसले पारेको र पार्न सक्ने प्रभाव, पाठकको रूचि, समाजमा यसको टकराव, संलग्नता, जनरूचि, नीतिगत पक्षहरू अघि सार्ने गर्छ भने प्रकाशित विषयवस्तुमा यसको तथ्यगत अवस्था, तथ्यको शुद्धता, यसको वस्तुपरकता, निष्पक्षता, सन्तुलन र समाचारको स्रोतलाई अनिवार्य ध्यान दिएको हुन्छ ।
यो पक्ष विगत केही समययता अनुभूति गर्न पाइएको छैन । समाज बनाउने तपाईं हामी सबैले हो । सामाजिक विकृति विसंगतिविरुद्ध र समृद्धिका पक्षमा सहकार्य गर्न सक्ने वातावरण बनाउन आवश्यक छ । यसतर्फ सम्बद्ध सबैको ध्यान जान सकोस्, हार्दिक शुभेच्छा ।
प्रस्तुति : भूमिप्रसाद पाठक



















