विस २०५८ साल मङ्सीर २४ गतेदेखि नेपाल प्रहरी जवानको सेवामा प्रवेश गर्नुभएका दीलिपकुमार गिरी हाल प्रहरी नायब उपरीक्षकको जिम्मेवारीमा हुनुहुन्छ । प्रहरी ईलाका कार्यालय पथरीको स्तरोन्नति भएसँगै दोस्रो व्यक्तिको रूपमा यो जिम्मेवारीमा आउनुभएका उहाँ २०७४ असार २९ गतेदेखि प्रहरी नायब उपरीक्षक बन्नुभएको हो । प्रहरी जवानबाट आफ्नो केरियर सुरू गर्नुभएका उहाँ २०७६ मङ्सीर २७ गते दरबन्दी कायम भएसँगै पथरी शनिश्चरेको सुरक्षा कमाण्ड सम्हाल्दै आउनुभएको छ ।
यहाँको चिन्ताजनक सुरक्षास्थिति र फरार अभियुक्तलाई कानुनी दायरामा ल्याउन सफल डीएसपी गिरीले आफ्नो कार्यक्षेत्रमा अब्बल सुरक्षा अधिकारीको आफ्नो पहिचान विकास गर्नुभएको छ । पथरी शनिश्चरे नगरपालिकाका अतिरिक्त कानेपोखरी गाउँपालिका, कार्यालय रहेको विराट जंगल क्षेत्रको समेत शान्ति सुरक्षालाई चुस्तदुरूस्त राख्न सफल उहाँसँग गरिएको संवादको मुख्य अंशहरू ः—

अहिले पथरी शनिश्चरे नपा र कानेपोखरी गापाको सुरक्षा व्यवस्था कस्तो छ ?
यो त सुरक्षा अनुभूति गर्ने तपाईहरूले भन्ने कुरा हो । तथापि, मेरो अध्ययनमा अहिले पथरी शनिश्चरे नपा र कानेपोखरी गापाको सुरक्षा व्यवस्था विगतभन्दा राम्रो र चुस्त छ भन्ने लाग्छ । यहाँको सुकुम्बासी समस्या, गुण्डागर्दी, फिरादी वसुली, यौनजन्य व्यवसाय, लागू औषध र यसको ओसारपसारजस्ता जघन्य अपराधहरू न्युनीकरण गरिएको छ । यसकारणले पनि स्थानीय जनमत मेरो सुरक्षा व्यवस्थाप्रति खुशी छ भन्ने लाग्छ ।

विगतमा तपाईंको कार्यक्षेत्रमा पर्ने पथरी शनिश्चरे नपा र कानेपोखरी गापाभित्र घटेको रिना हत्या प्रकरण, शिखा बार काण्ड र एकापरिवारका सबै सदस्य एउटै घरमा जलेर खरानी भएको घटनालाई यहाँले कसरी नियालिरहनुभएको छ ?
तपाईंले भन्नुभएझैँ मेरो कार्यक्षेत्रमा पर्ने भूगोलभित्रका फायल ओपन गरेर गहिरो अध्ययन अनुसन्धान गर्दै आएका छौँ । कतिपय घटनाहरू रहस्यमय भएकाले त्यसलाई मिहिन ढंगले अध्ययन गर्ने काम भएको छ ।

कतिपय सन्दर्भहरू जटिल प्रकृतिका छन् । यसमा मेरोमात्र बुताले नपुग्ने भएकाले मैले माथिल्ला स्तरको सहयोग लिएर पनि अध्ययन अनुसन्धानको प्रक्रियालाई अघि बढाएको छु । यो अध्ययन अनुसन्धानको विषय हो । सबै घटनाबारे यहाँ भन्न मिल्दैन । तथापि, समयक्रममा निस्कने निष्कर्षहरू र आउने विषयवस्तुहरूलाई सप्रमाण सत्यतथ्य सार्वजनिक हुने कुरामा ढुक्क रहन यस पत्रिकामार्फत सबैलाई म अनुरोध गर्दछु ।

पछिल्ला चोरीका घटनाले तपाईंको सुरक्षा व्यवस्थामाथि चुनौतिहरू थपिदिएको छ नि ! होइन र ?
तपाईंले ठीकै भन्नुभयो । चोरी घटनाहरू केही वृद्धि भए पनि हामीले यसलाई कडाइका साथ लिएका छौँ । चोरी घटनामा संलग्न जसकसैलाई हामीले छोडेका छैनाँै । निरन्तर पक्रने र वस्तुनिष्ठ ढंगले यसलाई अध्ययन र अनुसन्धान गर्ने काम गरेका छौँ । अझै यस्ता घटनामा संलग्न सबैलाई गहिरो अध्ययन अनुसन्धानको प्रयासपछि राज्यको प्रचलित कानुनी दायरामा ल्याउने प्रण गरेका छौँ ।

तपाईंको कमाण्डमा रहेको यो इलाका प्रहरी कार्यालयमा कस्ता प्रकृतिका घटनाहरू अधिक मात्रामा आउछन् ?
हेर्नुुुस्– यस इलाका प्रहरी कार्यालयमा दर्ता हुन आएको समस्त रेकर्डानुसार अभिभावकको निगरानीबाट बाहिरका, टाढिएका र भरखरै वयस्क उमेर समुहमा प्रवेश गरेका केटाकेटाहरू, अभिभावकबाट चाहिनेभन्दा बढी पुलपुलिएका केटाकेटीहरू, सामाजिक कारणले साथीभाइको देखावटी, लहैलहै, संगत आदिबाट प्रेरित भएर कुलतमा फसेका केटाकेटीहरू बढी आउने गर्छन् भने नजिकै ठूलो जंगल छ । अलिक पर सुनसान खोला बगर छ ।

यहाँको वातावरणलाई दूरूपयोग गरेर हुने अनेक प्रकारका आपराधिक घटनामा संलग्न अभियुक्तहरू, बालविवाह, बहुविवाह, साँधसिमा, लेनदेन बिग्रेकाजस्ता घटनाहरू बढी नै आउने गर्दछन् । नजिकै हाइवे छ । सडक दुर्घटनाका मामिलाहरू पनि प्रशस्तै मात्रामा आउँछन् । यद्यपि, धेरै प्रकारका घटनाहरू नगरपालिका न्यायिक समितिले समेत सुनवाई गरिदिने व्यवस्था भएकाले हामीकहाँ घुइँचो भने छैन । यी सबैखाले घटनाहरू यहाँ आउने हो भने हाम्रो जनशक्ति र सामथ्र्यले पनि नपुग्ने अवस्था भने विद्यमान छ । नगरपालिका न्यायिक समितिसँगको समन्वय र सहकार्य आफैमा राम्रो पनि भएको छ ।

पुराना घटनाका अभियुक्तलाई अनुसन्धानको दायरामा कसरी ल्याइरहनुभएको छ ?
सबै विषय त यहाँ भन्ने कुरा होइन । तथापि, तपाईंलाई यति भनुँ कि हाम्रो अफिसमा रेकडेड पुराना घटनाका फायलहरू क्रमशः ओपन गरिरहेका छौँ । त्यसमा पनि यसबीचमा सर्वाधिक चर्चा पाएका ४÷५ वटा मुद्दा मामिलामाथि गहन अध्ययन अनुसन्धान गर्दै आएका छौँ । यसमा पनि जबरजस्ती करणी, सामुदायिक करणी, चोरी डकैती, कीर्ते कागजात गर्ने, बहुविवाह, गर्भपतनजस्ता विषयहरूलाई उल्टाएर समेत हेरेका छौँ । यसबीचमा विभिन्न समयमा सम्मानित अदालतबाट ३ सय ५० जना व्यक्तिहरूलाई अदालतमा बुझाएका छौँ । यसमा १ महिनादेखि १० वर्षसम्मका सजायका भागिदार तोक आदेश जारी भएका अभियुक्तहरू छन् ।

अरू नि ! कस्ता–कस्ता प्रकृतिका घटनाहरू छन् त ?
धेरै कुरा त माथि नै पनि आइसक्यो । घटना भन्नेवित्तिकै सानो वा ठूलो भन्ने छैन÷हुँदैन । कुनै पनि घटनालाई हामी सामान्यकृत गर्दैनौँ । सामान्य रूपले हेर्दैनौँ । घटना घट्नु एउटा कुरा हो । यसको प्रारम्भ र प्रकृति के–कस्तो हो भन्ने कुरा चाहिँ प्रमुख विषय हो । हामी यसलाई यसरी नै हेर्छौं ।

मापसे र ट्राफिक नियमपालना नगर्नेलाई के कसरी कारबाही गर्दै हुनुहुन्छ ?
कारबाहीका विधिहरू चरणबद्ध हुन्छन् । हामी कुनै पनि गुञ्जाइस नराखी कारबाही प्रक्रियालाई अघि बढाएका छौँ । राज्यले जारी गरेको सुरक्षासम्बन्धी आचारसंहिता नमान्ने जो कोहीलाई पनि कुनै पनि खालको लचकता नपनाई कारबाही प्रक्रिया अघि बढाएका छौँ । नागरिकको सुरक्षाका लागि सचेतना र अपराधी न्युनीकरण गर्ने काममा डटेका छौँ । ट्राफिक नियमपालनका सन्दर्भमा सार्वजनिक सूचना र होर्डिङ बोर्डहरू समेत यत्रतत्र राखेका छौँ ।

अपराध रोकथामका लागि के गर्दै हुनुहुन्छ ?
यो आमचासो र जिज्ञासाको विषय हो । अपराध रोकथामका लागि पहिलो कुरा त चेतनामूलक कार्यक्रमहरू गर्दै आएका छौँ । लागू औषध सेवनबारे विद्यालयमा गएर विद्यार्थीमाझ प्रशिक्षित गर्ने काम गरेका छौँ । मानव बेचबिखन, बालविवाह, लैंगिक हिंसाजस्ता कार्यक्रमबारे विद्यालय–विद्यालय पुगेर आम अभिभावकमाझ सचेतना अभिबृद्धि गर्ने काम गरेका छाँै । नागरिक आफै आफ्नाबारे सचेत रहन सके सुरक्षा व्यवस्था चुस्तदुरूस्त र प्रभावकारी हुने विश्वासका साथ समुदायसँग प्रहरी कार्यक्रम सञ्चालनमा ल्याएका छौँ ।

प्रहरी र नागरिकबीच कस्तो सम्बन्ध हुनुपर्छ ?
नागरिक आफैमा बिना बर्दीको प्रहरी हो भने प्रहरी पनि नागरिक हो । यी दुबैबीचको सम्बन्ध सुमधुर मात्र होइन, नङ र मासुजस्तो हुनुपर्छ । समाजमा अपराध रोक्न नागरिकले सुरक्षासम्बन्धी सूसुचित हुनेलगायतका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । यसका लागि नेपाल प्रहरीले एउटा नारा ल्याएको छ– समुदाय प्रहरी र साझेदारी कार्यक्रम । यो कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्दै अघि बढेमा समाजमा धेरै अपराधहरू न्युन हुन्छन् ।

यहाँ आइकन तपाईंले राजनीतिक दवाव कत्तिको झेल्नुपरेको छ ?
अहिलेसम्म मैले कुनै पनि दल विशेष, पद विशेष र मर्यादा विशेषको दवाव झेल्नुपरेको छैन । यद्यपि, कहिँ कतैबाट राजनीतिक दवाव आए म १ इञ्च पनि हट्नेवाला छैन । निरन्तर अपराध नियन्त्रणका लागि अध्ययन अनुसन्धानलाई अघि बढाउने छु ।

एकजना प्रहरीले कतिजनासम्मलाई शान्ति सुरक्षा दिन सक्ने प्रावधान छ त ?
मेरो कार्यक्षेत्रअन्तर्गत जम्मा ८२ जना सुरक्षाकर्मी खटिएका छौँ । यो शक्तिलाई स्थानीय उपस्थितिसँग विनियोजन गर्दा एकजना प्रहरी सुरक्षाकर्मीले १७ सय ३० जनालाई सुरक्षा दिनुपर्ने हुन्छ । यो आफैमा निकै कम हो । यहाँको जनमत सचेत र स्वसुरक्षित नहुने हो भने हामीलाई यहाँको सुरक्षा प्रत्याभूतिको पक्षलाई थेग्न निकै हम्मेहम्मे पर्छ । यो नै पूर्ण होइन । राज्यबाट आवश्यक सुरक्षाकर्मी खटाउने, उनीहरूको मनोवल बढाउने र प्रशिक्षित गर्ने विषयमा ध्यान दिन आवश्यक छ ।

स्थानीय सरकारको हकमा कत्तिको साथ सहयोग पाउनुभएको छ ?
स्थानीय सरकारको रूपमा क्रियाशील पथरी शनिश्चरे नपा र कानेपोखरी गापाबाट मैले अपेक्षा गरेअनुरूप सहयोग पाएको छु । सरकारको तर्फबाट उहाँ प्रमुखहरूले चासो लिइरहनुभएको छ । यद्यपि, आवश्यक जनशक्ति परिचालनका लागि प्रहरी कार्यालय, तालिम कक्ष र ब्यारेकको अभाव छ । समयक्रममा यो पनि सम्बोधन र व्यवस्थापन होला भन्ने ठानेको छु ।

अन्त्यमा केही भन्नु छ कि !
धेरै कुरा त माथि नै आइसक्यो । हाम्रो काम समाजमा शान्ति सुरक्षा कायम गर्नु हो । अपराध न्युनीकरण गर्नु हो । यसका लागि स्थानीय सरकार, स्थानीय समाज, तमाम संघसंस्थाहरू, स्थानीय समुदाय र अस्तित्वमा देखिएका सबै राजनीतिक दलहरूको सहयोग अपरिहार्य छ । तपाईंहरू सचेत सबै नागरिकसमक्ष सूचना प्रवाह र आदान–प्रदानका लागि हार्दिक अनुरोध गर्दछु । समाजमा घटेका अथवा घट्न सक्ने तमाम प्रकृतिका घटनाहरू नलुकाइकन प्रहरीसमक्ष पु¥याइदिनुभए हाम्रो समाज अपराधमुक्त र शान्ति अमनचैन भएको समाज बन्न सक्छ । सही सूचनाको पनि हामीलाई अभाव छ । यो कार्य सबैबाट हुने हो । अथवा, सबैको साझा अभिभारा हो । यो विषयलाई आमनागरिकमा पु¥याइदिनुहुन तपाईं मिडियामार्फत हार्दिक अनुरोध गर्दछु ।

(डीएसपी, दीलिपकुमार गिरी,हाल  ईलाका प्रहरी कार्यालय,पथरीमा कार्यरत हुनुहुन्छ )
              

प्रस्तुति : भूमिप्रसाद पाठक