जनताका भावना बुझेर कार्य सम्पादन गर्नमा पथरी शनिश्चरे नगरमा सक्रिय महिला जनप्रतिनिधिका रुपमा हुनुहुन्छ मैनादेवी फूयल आचार्य । जनताका काममा अहोरात्र खटिइरहनु हुने आचार्य पटक पटक वडा नम्वर १० को कार्यवाहक वडाध्यक्षका रुपमा रहेर अझ बढी आफुलाई सक्रिय बनाउनु भएको छ । वडाका गतिविधि तथा विकास निर्माणका कामका सन्दर्भमा उहाँसँग गरिएको कुराकानीका केही अंशहरु :

वडाका महिला जनप्रतिनिधिमा तपाईको सक्रियताको चर्चा जताततै छ, यसबेलाको तपाईको सक्रियता के के मा छ नि ?
 वडाका निर्धारित योजना सम्पन्न गराउने काममा लाग्नु एउटा विशेष कर्तव्य भयो । त्यसका साथै समाजमा परेका अप्ठ्याराहरुलाई समाधान गर्न र गराउन मेरो उस्तै पहल हुने गर्छ । अनि वडाका लागि कहाँबाट के कसरी विकासको गति अघि बढाउने भन्ने अर्काे कोशिषमा पनि म छु । नगरस्तरीय कार्यक्रमका रुपमा यूएनएचसीआरले लुथरनमार्फत प्रदान गरेको कृषि तथा पशुपालन परियोजनाका लागि दातृ निकायबाट सहजकर्ताका रुपमा समेत जिम्मेवारी पाएको छु । जसका लागि वडामा जग्गा व्यवस्थापनका लागि पनि मेरो अगुवाईमा पहल भयो । साथै वडाको पहलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र खडा गर्ने तथा जग्गा व्यवस्थापनमा पनि लागियो र सफल भइयो । वडाध्यक्ष सागर राई सहितको वडा समितिको पहलमा प्रदेश सरकारबाट सडक कालोपत्रे सहितका कार्यक्रम पनि ल्याउन सफल भइएको छ । बाढीपिडीतका लागि तटवन्धनका कार्यक्रम, असक्तहरुलाई घर घरमै सामाजिक सुरक्षा भत्ता पुर्याउने, आर्थिक समस्या भएकाहरुलाई खाद्यान्न राहत सहित आर्थिक व्यवस्थापन गराउने सहितका कामहरु हामीले सक्रियतापूर्वक गरेका छौं भन्ने लाग्छ ।

 महिला तथा बालबालिकाहरुतर्फका वडामा विशेषखाले कार्यक्रम छन् कि ?
 आर्थिक विपन्न महिलाहरुका लागि सिलाई कटाई सहितबाट आत्मनिर्भर बनाउनका लागि शिपमुलक तालिम सञ्चालनका कार्यक्रम छन् । जनचेतनामुलक कार्यक्रम पनि छन् । बालबालिका र युवाहरुका लागि खेलकुदमा प्रोत्साहन गर्न प्रत्येक वर्ष खेलकुद सामग्री प्रदान गर्ने काम भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा वडामा रहेका २ वटा सामुदायिक विद्यालयका लागि खेलकुद सामग्री प्रदान गरियो । यस वर्ष पनि बाल क्लबलाई खेलकुद सामग्री प्रदान गरिएको छ ।

 वडावासीका समस्यालाई यहाँले कसरी बुझ्नु भएको छ नि ?
 वडावासीका समस्या हामीले आफ्नै समस्या बुझेर त्यसको समाधान तथा विकास निर्माणका काममा लागेका छौं । अनि वडाको औकातले भ्याउनेसम्मका गरीवि निवारणमा कार्यक्रमहरुमा पनि केही रुपमा लागिरहेका छौं । फुसको छानो हटाउने नगरको अभियानमा वडामा पनि हामी जुटेका छौं । वडावासीको घरदैलोमा पुगेर के के समस्या छन् र तिनीहरुलाई वडातहबाट समाधान गर्न नसक्ने अवस्था भए नगर र प्रदेश सरकारसम्म पुर्याउने काम गरिरहेका छौं । कानूनी कुरा अर्काे होला तर यहाँ रहेका भूटानी शरणार्थीहरुलाई व्यवहारिक हिसावले नै भएपनि सहकार्य र सहयोग पुर्याउने काम गरिरहेका छौं ।

तपाईं त अरु सदस्य भन्दा बढी कार्यवाहक अध्यक्षका रुपमा समेत कामको जिम्मेवारी पाउनु भएको छ, यस जिम्मेवारीमा थप त्यस्तो केही काम गर्नुभयो कि ?
 मैले त्यस्तो विशेष फरक र थप काम त गरेको छैन । अध्यक्षज्यूसँगको सरसल्लाहमा नगरमा कृषि तथा पशुपालन परियोजनाको व्यवस्थापन, बाढीका समस्या, सामुदायिक स्वास्थ्य सेवा केन्द्र जस्ता कार्यक्रममा मैले पनि भूमिका निर्वाह गरेको छु ।

 वडा कार्यालय यूएनएचसीआरले छोडेको एक कोठमा साँघुरो रुपमा सञ्चालन भइरहेको छ, कार्यालय भवनको व्यवस्थापनमा चाँही के पहल हुँदैछ नि ?
 वडामा भवनका लागि जग्गादाताबाट जग्गा खोज्ने प्रयास गर्यौं । तर जग्गा प्राप्त नभएकाले साँघुरो कोठामा बस्न वाध्य छौं । पछिल्लो समयमा भूटानी शरणार्थीको रेखदेखमा रहेको यूनएनएचसीआर र लुथरनसँग वडा कार्यालय भवन निर्माणमा सहयोग पुर्याउन माग राखेका छौं । शिविर क्षेत्रमै हाल रहेको वडा कार्यालय सञ्चालन गरिएको दक्षिणतर्फको खाली भूभागमा वडा कार्यालयलाई व्यवस्थापन गर्न सकिन्छ कि भनेर सवैसँग कुराकानी र छलफल अघि बढाएका छौं ।

..र अन्त्यमा केही भन्नु छ कि ?
वडावासी आदरणीय दाजूभाई, दिदीवहिनीहरुको सहयोगका कारण आज हामी यो ठाउँमा आएर वडाको समग्र विकासको जिम्मेवारीमा छौं । हाम्रो ल्याकतले भ्याएसम्म तपाईहरुका समस्या समाधानमा लागिनै रहेका छौं । तपाईहरुले हामीलाई पनि सकारात्मक सल्लाह, सुझाव दिनुहोस् र सहयोग पुर्याउनुहोस् । कमि कमजोरी देखिएमा सुधार्न र त्यसमा सकारात्मक तबरले हात तान्ने काममा लाग्नुहोस्, न कि खुट्टा तान्ने काम नहोस् । त्यसपछि हामीले अझ बढी काम गर्न सक्नेछौं अनि वडाको विकास हुन्छ । मेरा विचारहरु राख्ने अवसर दिएकोमा यो सञ्चारमाध्यमलाई समेत हार्दिक आभार व्यक्त गर्दछु ।
प्रस्तुति : भूमिप्रसाद पाठक