काठमाडौं, ५ पुस । कोरोना संक्रमित महिलाले जन्माएका शिशुमा भाइरस नसरेको एक अध्ययनले देखाएको छ ।

न्युयोर्कका ३ अस्पतालमा कोरोना संक्रमण भएका महिलाले जन्माएका १२० शिशुको परीक्षण गर्दा कसैमा पनि कोरोना पोजिटिभ नदेखिएको हो ।

आमासँग एउटै कोठामा बस्दा र स्तनपान गराउँदा समेत शिशुमा भाइरस नसरेको पाइएको अनुसन्धानकर्ताले बताएका छन् । तर यस विषयमा अझ विस्तृत अनुसन्धान गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ ।

यस अध्ययनमा सहभागी संक्रमित आमालाई बच्चासँग एउटै कोठामा राखिए पनि आमाले मास्क लगाउने र नियमित हात धोइरहने जस्ता सुरक्षा अपनाएका थिए । बच्चा सुत्ने ठाउँ आमाको खाटबाट २ मिटर टाढा राखिएको थियो ।

अध्ययन टोलीकी प्रमुख डाक्टर क्रिस्टिन सेलभटोरले यस अनुसन्धानबाट गर्भवती संक्रमित भए पनि जन्मिने शिशु सुरक्षित नै रहने देखिाएको बताएकी छन् । ‘तर यसबारे अझ धेरै जानकारी लिन ठूलो स्तरको अध्ययन आवश्यक छ,’ उनले भनिन् । बीबीसी