अमृतप्रसाद आचार्य (आचार्य अमृत)

आज एक्कासि मेरा मनमा यो प्रश्न आयो । अनि यसको जबाफ निकाल्न सकिन्छ कि भनी म घोत्लिन थालेँ । हिजोआज निरीह शब्दको अर्थमा परिवर्तन आएको छ । पहिले यो शब्दको प्रयोग निर् + ईह अर्थात् कुनै चाहना नगर्ने भन्ने अर्थमा हुने गर्थ्यो, तर आज यस शब्दले असहाय भन्ने अर्थ वहन गर्न थालेको छ, तर आधिकारिक भनिएका शब्दकोशहरूले पनि रमाएर यो नयाँ अर्थ लेख्न सकेका छैनन्, खालि उदासीन भनेर टारेका छन् । मेरा मनमा आएको प्रश्नलाई पनि मैले निरीहलाई नयाँ अर्थमा नै लिएर आफ्नो विचार सम्प्रेषण गर्न खोज्दै छु ।


आज मान्छेको मूल्याङ्कन बिल्डिङ, गाडी, घडेरी, बैङ्क ब्यालेन्स, पद आदिका आधारमा गरिने चलन जबरजस्ती चलाइएको छ । यी कुरामध्ये सबैमा वा केहीमा पहुँच राख्ने मानिसहरू आफ्नो जीवन सफल भएको ठान्दा हुन् ( सबैले ठान्छन् नै भनेर म किटान गर्न सक्तिनँ ) । तर जसले ठान्छन्, उनीहरूको रोबरबाफ खपिसक्नु हुँदैन । उनीहरूका लेखा अरू साधारण मानिस त मानिस नै होइनन् । उनीहरू तीसँग बोल्न पनि आफ्नो समयको बरबादी मान्छन् । उनीहरूका मुखमा सिधा गरी हेर्‍यो भने पनि उनीहरू आपत्ति गरौँला जस्तो गर्छन् । उनीहरूको टाइँफाइँ देख्ता लाग्छ, उनीहरू कहिल्यै मर्दैनन् अर्थात् उनीहरू अमर ( अमृत ) हुन् ।


अब के तिनीहरूको रबैया देखेर म आफूलाई निरीह ठानूँ ? मैले तिनको कमाइले आफूलाई पालेको छु ? मेरो आफ्नै जीवनदर्शन छैन ? ती रकेटमा उडे भनेर म रेलिङमा चढेर रमिता देखाऊँ ? म मरेर जाँदा कुनै कुरा लैजान सक्छु ? यस्ता हजारौँ प्रश्न तेर्स्याउन सकिन्छ । तर मैले आफूलाई आफैँले पालेको छु । आफ्नै सोच र ढङ्ग-ढाँचामा जीवनको गाडी गुडाइरहेको छु, अनि गुडाउँदागुडाउँदै म सकिनेछु, यो मलाई राम्ररी थाहा छ । स्वाभिमानलाई आफ्नो सम्पत्ति ठान्ने मैले आफूलाई निरीह ठान्नुको कुनै तुक हुन्छ ? निश्चय नै हुँदैन । म निरीह छुइनँ । यस्तो उत्तर निकालेँ मनमा उठेको त्यस प्रश्नको । यो पढिदिनुहुने सबै आत्मीय जनमा साधुवाद ।