पथरी शनिश्चरे, २३ पुस । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखामार्फत घरपालुवा कुकुर र विरालोका लागि रेविज विरुद्ध खोप लगाउने कार्यक्रम वडा वडामा सञ्चालन सुरु भएको छ ।
पथरी शनिश्चरेलाई रेविजमुक्त नगर बनाउने लक्ष्य सहित थालिएको खोप अभियानमा पहिलो दिन वडा नम्वर ४ र ९ मा गरी ६२ वटा कुकुर र ४ वटा विरालोलाई खोप लगाइएको पशुपंक्षी शाखाका प्राविधिक पर्वत साहले जनाउनु भयो । ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी र ९ नम्वर वडाध्यक्ष भानुभक्त राईले खोप लगाएपछि पशु धनीलाई खोपको कार्ड वितरण गर्नुभयो ।
आज वडा नम्वर १ र १० मा, पुस २४ गते २ र ३, २६ गते ५ र ६, २७ गते ७ र ८ नम्वर वडामा खोप लगाउने कार्यक्रम छ । खोप लगाउने कार्य वडा कार्यालयको प्रांगणमा सञ्चालन गरिने छ ।




















