✍️ राधाकृष्ण देउजा 

वास्तवमा अहिले प्रधानमन्त्री केपी ओलीको समुहमा रहनु भएका कतिपयलाइ बढो अप्ठेरो परेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा केपी ओलीको योगदानको सम्मानको जग अनि पार्टी भित्र हुँदा कहिले केपी ओलीको राजनीतिक स्वार्थको लागि अनि कहिले आफ्नो राजनीतिक स्वार्थका लागि बनेको समुहसंगको आवद्धताको साथै अहिले विद्धमान आफ्नो राजकीय पद प्राप्ति गर्दै गर्दा केपी ओलीले लगाउनु भएको गुणको भारीले च्यापिएर अलोकतान्त्रिक अनि गैरसंवैधानिक संसद विगठनको प्रतिरक्षा गर्न कति कठिन भएको होला हामि त केवल अनुमान लगाउन सक्छौं ।

त्यस्तै समुहगत आवद्धताले च्यापिने र सत्य अर्कै हो , सहि अर्कै हो भन्ने जान्दा जान्दै पनि गलतको प्रतिरक्षा गर्न बाध्य मध्य एक हुनुहुन्छ हाल केपी ओली समुहमा भए पनि सिंगो नेकपा ( दुवै तर्फका) ले माया र सदभाव राख्ने नेता शंकर पोखरेल । वहाँको वौद्धिकता , सरलता , शालीनता सहितको राजनीतिक निरन्तरताले आर्जित सम्मानलाइ असहज हुने गरेर वहाँ अहिले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा गर्नु भएको संसद विगठनलाइ बाध्यतापूर्ण कदम थियो भन्दै हुनुहुन्छ ।

होलान बाध्यता थिए होलान तर बाध्यता थियो भन्दैमा गलत गर्न पाइन्छ ? संविधानको गला घोटन पाइन्छ ? सरकार बनाउन असमर्थ हुँदा वाहेक अन्य अवस्थामा असामयिक विगठनको कल्पना नगरिएको जननिर्वाचित संसदलाइ बलात विगठित घोषणा गर्न पाइन्छ ? जरुर पाइन्न । त्यसैले संसद विगठन गर्नुको पछाडी कारण थियो भन्ने दलिल गर्दै आफ्नै मनलाई समेत झुठ बोलेर वहाँले समुहगत स्वार्थको लागि वाध्यतावस लेख्नु भएको टिप्पणीमा आदरपुर्वक निम्न कमेन्ट लेखियो ; कमरेड, हजारौं तर्क गर्नुस तर सत्य बदलिन्न वा भनौ तथ्य बदलिन्न ।

कारण अनेक होलान तर परिणामले नै दण्ड सजायँ वा पुरस्कारमो विषयलाइ तय गर्ने गर्छ र अहिलेको सत्य के हो भने जनताको अत्याधिक वहुमत नेकपाको पक्षमा प्रकट भएको संसदलाइ असामयिक रुपमा अलोकतान्त्रिक र असंवैधानिक ढंगले विगठन गरेर प्रधानमन्त्री केपी ओलीले ठुलो गल्ती गर्नु भएकै छ । वहाँको त्यस गल्तिले गर्दा तपाईं जस्ता शालीन अनि अक्सर सत्य बोल्ने लेख्नेलाइ आफ्नो समुहको इज्जत जोगाउन कुतर्क गर्न बाध्य पारेको छ भने लोकतन्त्र र कानुनि राज शर्मसार भएको छ । अझै पनि तपाईंले केपी ओलीले संसद विगठन बाध्यताले गर्नु भयो भनेर भन्नु भनेको कुनै हत्यारालाइ जोगाउन निजको वकिलले “ कहाँ त्यसै मारेको हो र , आफुलाइ पिट्न आए पछि पो मारेको त” भनेर वकिलको फि पचाए जस्तै हो ।