काठमाडाैँ/ काठमाडौँमा भएको शृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएसँगै मृतकको संख्या पाँच पुगेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले उपचाररत श्रेष्ठको शनिबार बिहान मृत्यु भएको पुष्टि गरे ।

जेठ १२ गते शृंखलाबद्ध बम विस्फोटमा परी यसअघि विप्लव समूहका ४ जनाको मृत्यु भएको थियो ।  बम विस्फोटको घटना भएको २४ घण्टा नबित्दै ४ जनाको ज्यान गएको थियो ।

बम विस्फोटमा विप्लव समूहका सेनाका कमाण्डरहरू महान, दीपेन्द्र, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही र निरन्तरको ज्यान गएको थियो । शनिबार मृत्यु  श्रेष्ठ पनि विप्लवकै कार्यकर्ता हुन् ।

सुकेधारास्थित छोटे ठाकुरको सैलुनमा भएको बम बिस्फोटमा परि गम्भीर घाइते भएका सुरेन्द्र महर्जन र हरि खड्काको ओम अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।