✍️ नवराज दाहाल

१ . देशी, विदेशी प्रतिक्रियावादी शक्तिको कारणले उत्पन्न भएको राजनितिक अस्थिरता
२. देशमा लामो समय सम्म सामन्तवाद, दलाल, नोकरशाही , एकतन्त्रीय राजतन्त्रको शासन, शोषण रहनु र जसले तिनीहरूको शासन शोषणको अन्त्य गरेर लोकतन्त्र, गणतन्त्र र जनवादको स्थापना गरे तिनीहरू मध्ये केहि व्यक्ति वा शक्तिहरु नै केवल सत्ता र पदको लोभ मा आफ्नो वर्गीय तथा सैदान्तिक दृष्टिकोण, अडान र चिन्तन बाट विचलित भएर प्रतिगामी, पुनरुत्थानवाद र प्रतिक्रियावाद मा परिणत भई सर्वहारा, श्रमजीवी जनता र जनताको जनवादी क्रान्ति को आधारभूत शत्रु बन्न पुग्नु।

यसको प्रभाव :

१ . आर्थिक क्षेत्रमा प्रभाव - (I) यी मुख्य दुई वटा कारण देशको आर्थिक स्थितिमा परिवर्तन र सुधार हुन सकेन ।जब सम्म देशको आर्थिक स्थितिमा सुधार हुँदैन , जब सम्म राष्ट्रिय एकाधिकार र विश्व एकाधिकार पूँजीवादको प्रभावको अन्त्य भई राष्ट्रिय पूँजीको विकास हुँदैन तब सम्म श्रमजीवी जनताको जीवनस्तरमा कुनै सुधार हुँदैन ।

(ii) देशको आर्थिक स्थितिमा सुधार हुन नसक्दा वर्गीय रूपमा सर्वहारा वर्गको र जनवादी आन्दोलनको नेतृत्व गर्नुपर्ने र जनवादी आन्दोलनमा सकारात्मक रूपमा भूमिका निर्वाहा गर्नसक्ने शक्ति वा वर्ग सर्वहारा, श्रमजीवी युवाहरु विदेशिनु पर्यो। जसले गर्दा जनताका जनवादी आन्दोलन का आधारभूत शत्रुहरुले आफ्नो प्रभाव बढाउने मौका पाए ।

(iii) देशको आर्थिक क्षेत्रमा सुधार हुन नसक्दा गुणस्तरीय शिक्षा, वैज्ञानिक शिक्षा, प्रविधिमा आधारित शिक्षा , प्रयोगमा आधारित शिक्षा लिन बाट जनता वञ्चित हुनुपर्यो।

२ . शिक्षा क्षेत्रमा प्रभाव - (I) संसदीय व्यवस्था मा जति सर्वहारा, श्रमजीवी जनता शिक्षित हुन्छन् त्यति नै जनताको संसद मा जनवादी, प्रगतिशील र सर्वहारा श्रमजीवी जनताको नेतृत्व पुग्छन्। जब देशको शिक्षा क्षेत्रमा हुनुपर्ने आवश्यक सुधार हुँदैन , शैक्षिक पाठ्यक्रमले बुर्जुवाहरुको हित को रक्षा गर्दछ, पाठ्यक्रमले सर्वहारा श्रमजीवी जनतालाई आफ्नो वर्गीय सारतत्व बुझाउन मद्धत गर्दैन तब संसदमा दक्षिण पन्थी अवसरवादी , पुँजीवादी, प्रतिक्रियावादी, पुनरुत्थानवादी , प्रतिगामी तत्वहरूको वाहुल्यता बढ्न गई संसदले पूँजीपति वर्गको वर्गीय हित को रक्षा गर्दछ ।
त्यसकारण पुँजीवादी, प्रतिक्रियावादी तत्वहरु हाम्रो देशको अवस्थामा सर्वहारा, श्रमजीवी जनतालाई शिक्षा क्षेत्रबाट वञ्चित तुल्याएर अधिक संख्यामा विदेश जान बाध्य बनाई आफूविरोधी संघर्ष कम गर्ने उद्देश्यले अघि बढ्छन्।

३ . देशको राष्ट्रिय सुरक्षा र एकतामा प्रभाव - (I) राष्ट्रिय सुरक्षाको मूल आधार आर्थिक, सामाजिक व्यवस्था हो । जबसम्म राज्य सञ्चालन गर्ने अधिकार पूँजीवादी, प्रतिक्रियावादी को हातमा हुन्छ तब सम्म राष्ट्रिय सुरक्षा र एकता सम्भव हुँदैन , राज्यसत्ता र राजनीतिमा जनताले निर्णायक भूमिका खेल्न पाउँदैनन् । देशमा हिंसा र आतंक फैलिरहन्छ।

(ii) पुँजीवादीहरु को राज्य जनताको राज्य हुन सक्दैन। पूँजीवादीहरु राज्यलाई वर्ग सम्मन्वयको साधनको रुपमा व्याख्या गर्दछन् । तर पूँजीवादीहरु द्वारा संचालन भएको राज्यले वर्ग समन्वय गर्न सक्दैन त्यस कारणले गर्दा देशमा वर्गीय अन्तरविरोध तिब्र भई हत्या र हिंसा फैली राष्ट्रिय एकता कायम हुन सक्दैन।

४ . हिजोको राजनैतिक परिवर्तनका लागी भएको क्रान्तिबाट स्थापित व्यवस्थाको गलत प्रयोग :
(I) हिजो को क्रान्तिले पुराना सामन्ती उत्पादक शक्तिहरुको स्थान मा नयाँ उत्पादक शक्तिको विकास गरी नयाँ उत्पादक शक्ति अनुरूप उत्पादन सम्बन्ध मा पनि परिवर्तन गर्ने उद्देश्य लिएको थियो र त्यो सफल पनि भयो । देशमा लोकतन्त्र, गणतन्त्र स्थापना भयो , बहुदलीय व्यवस्था को स्थापना भयो तर आज केही शक्तिहरु पदको लोभमा जनताको मित्र बाट शत्रुमा परिणत भई बहुदलीय व्यवस्थाको, लोकतन्त्रको फाइदा उठाएर व्यक्तिवादी स्वार्थले भरिएर जनताको सरकारलाई ढालेर दक्षिणपन्थी अवसरवादी सँग गठबन्धन गरेर देश र जनताको भविष्य अन्धकार बनाइरहेका छन्। बहुदलीय व्यवस्था ले संविधान को रक्षाको लागि, देश र जनताको रक्षा लागि , प्रतिक्रियावादी बाट देश र जनतालाई जोगाउन फुट्ने स्वतन्त्रता, दलखोल्ने स्वतन्त्रता दिएको हो तर प्रतिगामी तत्वहरुले यो स्वतन्त्रतालाई वक्तिगत स्वार्थ पूर्तिका लागि प्रयोग गरे।

यो अवस्थाबाट देश र जनतालाई मुक्त पार्ने एउटा मात्र उपाय निर्वाचन
(i) लोकतान्त्रिक देशमा प्रत्येक नागरिकलाई आफुखुस पार्टी लाई मतदान गर्ने अधिकार हुन्छ, त्यसैले देशी विदेशी प्रतिक्रियावादी, प्रतिगामी, दक्षिणपन्थी अवसरवादी तत्वहरुलाई राज्य सञ्चालन गर्ने जिम्मेवारी बाट हटाउने सबै भन्दा सरल तरिका निर्वाचन हो। हाम्रो देशको अवस्थामा सर्वहारा श्रमजीवी नेपाली जनताले आफ्नो मतदान गर्ने अधिकार लाई सहि ठाउँमा सदुपयोग गरी प्रतिक्रियावादी, प्रतिगामी,दक्षिणपन्थी तत्वहरुलाई परास्त गर्न सकेको खण्डमा माथिका समस्या हरुको समाधान गरी देश र जनताको उज्ज्वल भविष्य को ग्यारेन्टी गर्न सकिन्छ।
(ii) हाम्रो देशको सन्दर्भ मा यदि पुँजीवादी, प्रतिक्रियावादी, प्रतिगामी, एकाधिकार पूँजीवाद तथा विश्व एकाधिकार पूँजीवादको शासन बाट देश र जनतालाई मुक्त बनाउने हो भने , संविधान र लोकतन्त्र को रक्षा गर्ने हो भने ,आर्थिक संकट बाट बचाउन जनताले आफ्नो वास्तविक वर्गीय नेतृत्व पहिचान गरी मतदान गर्नुको विकल्प छैन।

त्यसकारण सर्वहारा श्रमजीवी जनताले आफ्नो वर्गीय सारतत्व बुझी वास्तविक नेतृत्व पहिचान गर्न सक्नु पर्छ। जनवादी, लोकतान्त्रिक अधिकार को सही सदुपयोग गर्न सक्नु पर्दछ। अनि मात्र जनताको संसदले पूँजीपति वर्गको वर्गीय हितको अभिव्यक्ति गर्नु को सट्टा बहुसंख्यक सर्वहारा श्रमजीवी जनताको हित को अभिव्यक्ती गर्दछ।

( लेखक : नवराज दाहाल अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस मोरङका नेता हुन )