सुनसरी, २ साउन । प्रदेश नं. १ का तीन ठूला अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् । सरकारले स्वास्थ्य बिमा वापतको करोडौं रकम भुक्तानी नदिएपछि ती अस्पतालले बिमा कार्यक्रम बन्द गरेका हुन् ।

झापाको विएण्ड सी अस्पताल,विराटनगरको नोबेल अस्पताल र विराट अस्पतालले बिमा सुविधा बन्द गरेका हुन् । विमा सुविधा बन्द गर्दा उपचारमा आउने हजारौं विरामी समस्यामा परेका छन् । दुई साता अघि अस्पतालका सञ्चालकहरुले पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार नोबेलले ५५ करोड, विराटले ४६ करोड र वि एण्ड सीले ४४ करोड रुपैंया पाउन बाँकी छ । सरकारले ठूलो रकम भुक्तानी गर्न बाँकी रहेको, भुक्तानीका लागि पटक पटक माग गर्दा पनि सुनुवाइ नभएपछि विमा सेवा बन्द गरिएको ती अस्पतालले जनाएका छन् । स्वास्थ्य विमा बोर्डले बक्यौता रकम भुक्तानी गर्नासाथ सेवा निरन्तर हुने जनाइएको छ ।

साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य सेवा प्रदायक संस्थामा उपचार गराए मात्र विमा रकम भुक्तानी हुने सरकारको बजेट भाषणमा उल्लेख थियो । यसले गर्दा विमा रकम पाइने नपाइने भन्ने पनि दोधार भएको अस्पताल सञ्चालकहरुले बताएका छन् । महिनौंसम्म उपचारको ठूलो रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा असर पुगेको उनीहरुको भनाइ छ । थप औषधी किन्न, स्वास्थ्यकर्मीको तलव भुक्तानी गर्न र अन्य खर्च धान्न मुस्किल परेको सञ्चालकहरुको गुनासो छ ।