काठमाडाैं४ असार । नेकपा एमालेले देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएकोमा कडा आपत्ति जनाएकाे छ ।
देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको र आम नागरिकले सहज ढंगले उपयोग गर्न पाउनुपर्ने बीमाबारे आएका विभिन्न समाचारप्रति पार्टीको ध्यानाकर्षण भएकाे एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले बुधबार निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।
विगतमा सरकारले संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी मौलिक हकको सहज कार्यान्वयनका लागि स्वास्थ्य बीमालाई जनमुखी कार्यक्रमका रुपमा कार्यान्वयनमा ल्याएको उहाँले स्मरण गराउनुभएकाे छ ।
एमाले सचिव समेत रहनुभएका भट्टराईले वर्तमान सरकारले आर्थिक वर्ष २०७९-८० को बजेटमार्फत स्वास्थ्य बीमालाई नियोजित षड्यन्त्र गरेको समेत उल्लेख गर्नुभएकाे छ । 'साे बजेट वक्तव्यको १५१ नं. बुँदामा ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ, यसका लागि सबै सामुदायिक तथा सहकारी अस्पतालमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ, स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनीमार्फत् सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ भनी उल्लेख छ'-विज्ञप्तिमा लेखिएकाे छ ।
सरकारको यो नीतिले एकातिर बीमा प्रदायक संस्थाको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बीमामा निजी कम्पनीहरु प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छने षड्यन्त्र गरेको स्पष्ट भएकाे विज्ञप्तिमा उल्लेख छ । एमालेले संघीय संसद्मा भएको छलफलमार्फत् साे नीति खारेज गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दै आएकाे भट्टराईले उल्लेख गर्नुभएकाे छ ।
बीमा सेवाप्रदायक कम्पनीबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बीमा कार्यक्रम सुचारु गर्न एमालेले सरकारसँग माग गरेको छ । बजेट वक्तव्यमार्फत् आएको जनविरोधी नीति फिर्ता लिन पनि एमालेले सरकारकाे पुनः ध्यानाकर्षण गराएकाे छ ।




















