पथरी,२९ साउन । पूर्वोत्तर मोरङ्गको पथरीशनिश्चरे नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि भवन निर्माण पहल समिति किर्तिपुरले प्रस्ताव गरेको छ।

आइतबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै वडा नं ४,५,६ र ७ को सीमानाको संगम स्थलमा १ विगाहा १० कठ्ठा क्षेत्रफलमा निशुल्क उपलब्ध गराउने उक्त समितिले जानकारी दिएको हो।

उक्त भवन निर्माणका लागि पहल समितिमार्फत वडा नं ७ का श्रीप्रसाद ढुंगानाले-१७ कठ्ठा, कुमार लिम्बुको परिवारबाट ५ कठ्ठा जग्गा निशुल्क प्रदान गरेका हुन् भने २ कठ्ठाका दरले निशुल्क जग्गा उपलब्ध गराउने क्रमशः सोहि वडाका उमेश जंग थापा, तिल विक्रम दर्लामी, प्रेम बहादुर धिमाल, तेजबहादुर बस्नेत रहेका छन् भने १/१ कठ्ठाका दरले जग्गादान गर्नुहुने जग्गादाताहरूमासरोज रिजाल, विकास लिम्बु, चन्द्र कुमार केसी, नरेन्द्र थापा तथा मीन कुमार धिमालले आधा कठ्ठा क्षेत्रफल जग्गा निःशुल्क प्रदान गरेका छन्।

298807907_587851079553042_8246727079970068427_n (1)

पथरीशनिश्चरे नगरपालिकाको हालसम्म आफ्नो निजी प्रशासकीय भवन निर्माण नभएका कारण वडा नं १ स्थित पथरी बजारमा भाडामा संचालन भैरहेको छ।
विगत ५ वर्षे कार्यकालमा पनि भवन निर्माण गर्न नसकेका कारण पथरीशनिश्चरे नगरपालिकाले आफ्नाे दैनिक कार्य सम्पादन गर्न र सेवाग्राहीलाई उचित सेवा पुयाउन समस्या भैरहेको थियो । सोहि समस्यालाई मध्यनजर गर्दै कीर्तिपुर बजारको पूर्वतर्फको समथर १ विगाह १० कठ्ठा नम्बरी जमिन निशुल्क उपलब्ध गराएको हो । उक्त भवन निर्माणमा पहल गर्ने निर्णय गरी पहल गरिरहेको जानकारी गराईएको थियो। साथै, उक्त कार्यक्रममा कीर्तिपुरमा नगरपालिकाको भवन बनाउनु पर्ने आधारहरु बुँदागत रुपले उल्लेख गरिएको थियो ।

पूर्व पश्चिम राजमार्गदेखि ७ किलोमिटर दक्षिणमा अवस्थित उक्त किर्तिपुर बजार क्षेत्रमा पर्ने सो प्रस्तावित जग्गा नगरपालिकाको मध्यभागमा रहेको दावी गरिएको छ। प्रस्तावित जग्गादेखि ७ किलोमिटर पूर्वमा बक्राखोला र मौलिबारी रहेको छ भने पश्चिममा डाँसखोला, झोलुङ्गे पुल ७ कि.मि छ । यसैगरी, उत्तरमा पथरी हाइवे ७ कि.मि., दक्षिणमा अमरदह ७ कि.मि.रहेको उल्लेख छ।

संघियता र विकेन्द्रिकरणको सिद्धान्त अनुरुप पछि परेको क्षेत्र र स्थानको विकास, उन्नति र समृद्धिको लक्ष्य राखिएको उक्त पहल समितिले चौतर्फी कालेपत्रे बाटो रहेको जनाएको छ। प्रस्ताव गरिएको उक्त जग्गा उत्तर-दक्षिण बुद्धमार्ग र पूर्व-पश्चिम ३३ फुटे कालेपत्रे सडक प्रदेश सरकारले निर्माण गरिएको छ । पथरी शनिश्चरेको मध्यभाग समेटेको र आवागमन सहज र सुलभ रहेको दावी सहित भवनको निर्माण पहल गरिरहेको पहल समितिका संयोजक उमानाथ अधिकारीले जनाएका छन् ।

सो अवसरमा साविक पथरी, शनिश्चरे र हसन्दह गा.वि.स. मध्यें दक्षिणमा अवस्थित हसन्दहको भुभागलाई समेत समेट्ने दावी गरिएको छ।
नगरपालिका भवन निर्माणका लागि आवश्यक हुने १ विगाह १० कठ्ठा नम्बरी र विवादरहित जमिन अहिले निशुल्क उपलब्ध गराइने र आवश्यक परेमा थप जमिन उपलब्ध गराउन सकिने पहल समितिका संयोजक अधिकारीले बताएका छन्।
उक्त अवसरमा वडा नं ४ का वडाध्यक्ष विजय लिम्बू, वडा नं -५ का चेतन खड्का, वडा नं ६ का कृष्ण बस्नेत, वडा नं ७ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा नं -८का वडाध्यक्ष नवीनजंग कार्की सहितले आ आफ्नो धारणा राख्नु हुँदै अब बस्ने कार्यपालिकाको बैठकमा प्रशासनिक भवन निर्माणका विषयमा गहन र घनीभूत छलफल गर्ने जनाएका थिए।

उता,कार्यक्रममा वडा नं १ ,२ , ९ र १० का वडाका वडाध्यक्षहरूको उपस्थिति रहेको थिएन। वडा नं १० ले अहिलेको भुटानी शरणार्थीहरू बसोबास गर्दै आएको सरकारी वन क्षेत्रमा उक्त प्रशासनिक भवन निर्माणका लागि पहल गरी जग्गाको खोजी गरीरहेको छ भने वडा नं ९ ले वडा कार्यालयले ओगटेको जमीन र छेउमा रहेका जग्गाधनीबाट गरी कुल १८ कठ्ठा क्षेत्रफल प्रस्ताव गर्ने तयारी गरिरहेको बताइएको छ।

यसैगरी, वडा नं १ र २ ले भने हाल संचालन भैरहेको पथरी बजार नजिकै जग्गा उपलब्ध गराउने जग्गादाता खोजी गरी रहेको जनाइएको छ।