काठमाडौं,६ फागुन । ग्यास लिकेजमा जलेर घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उनको उपचार भइरहेको छ ।
मुम्बईमै रहेका माधव न्यौपानेले दिएको जानकारी अनुसार शनिबार सवा १२ बजेपछि भण्डारीलाई दिँदै आइएको कृतिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ ।
फोक्सोले काम गर्न थालेपछि अक्सिजनको मात्रा घटाइएको हो । अब कृतिम अक्सिजनको मात्रा विस्तारै घटाउँदै जाने र सोमबार भेन्टिलेटरबाट बाहिर ल्याउने तयारी छ । हातको जलेको भागले काम गर्न थालेपछि थप अप्रेसन गर्नुनपर्ने भएको जनाइएको छ ।
बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास लिकेज भई आगलागी हुँदा भण्डारी र उनकी आमा जलेका थिए । आमा हरिकला भण्डारीको भने निधन भएको छ । पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको जनाइएको छ । भण्डारीको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो ।
थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । डा. धनन्जयका अनुसार अहिले बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए ।




















