आलेख :  ✍️  युवराज बास्कोटा यज्ञ

दमकस्थित सगरमाथा पेट्रोल पम्मको दाहिना हुँदै झण्डै साढे किलोमिटर दक्षिण लागेपछि नेपालको झण्डासँगै ओतिएको पाथिभरा डेरी फर्म आउछ । स्थानीय युवा व्यक्तित्व प्रोपाइटर सुदीप गौतमले विगत ४/५ वर्षयता सञ्चालनमा ल्याउनुभएको यो फर्म मनमोहक मात्र होइन, विदेश आकर्षित युवा र तरुणतन्नेरीलाई चाहे स्वदेशमै सहजै गरिखान सकिन्छ भन्ने विषयोपर दृष्टान्त बनेको छ । 

329634622_1014989212793394_2207144953742709336_nदमक नगरपालिका वडा नं. १० स्थित रतुवा खोला पूर्वपट्टि साढे ८ बिगाहामा सञ्चालित यो फर्ममा २ सय ५७ वटा गाई छन्, ८३ वटा दुहुना छन् र सयौं बाछाबाछी छन् । मशिनको प्रयोगबाट दुध दुहुने र अत्यन्तै सफासुथ्रा ढंगले संकलन गर्ने प्रविधिको प्रयोग नेपालको हकमा मैले यहाँ पहिलोपटक नयाँ स्वरुपमा देखेँ आज बिहान । १८ सय लिटर दैनिक दुहुनु र पोखराको सुजल डेरीलाई दिनु यहाँको व्यस्त दैनिकी बनेको छ । २/४ लिटर दुध घटबढको लेखाजोखा हुँदैन यहाँ बरु अब १ महिनापछि भने २ हजार लिटर दुध प्रति दिन उत्पादन हुन्छ प्रोपराइटर गौतमको तर्क छ । 

आमा चन्द्रमाया र बुबा डम्बरबहादुर गौतमका कोखबाट जायजन्म हुनुभएका १२ बहिनी छोरी र ९ भाइ छोरामध्ये कतिपय विवाहअघि वा विवाहबन्धन सँगसँगै अमेरिकी देशहरूमा बसोबासरत् हुनुहुन्छ भने औसत समुन्नत ढंगले देशभित्रै गरिखान प्रेरणा दिने लखन्तरे भाइ सुदीप गौतमले यो पेशा, व्यवसायलाई राम्रोसँग सम्हाल्नुभएको छ । नगरकै उत्कृष्ट छनौट भएको यो व्यवसायलाई निर्विघ्न अघि बढाउन गौतम परिवारकै दुई भाइहरू मन्तरे पूर्ण र कान्छो बरुणले काँध थाप्नुभएको देखिन्छ । 

दमकबाटै कक्षा १२ उत्तीर्णपछि महाराष्ट्रको पुणेस्थित कृषि विज्ञान केन्द्रबाट भेटनरीसम्बन्धी सामान्य तालिम र प्रशिक्षण लिनुभएका सुदीपले चलाउनुभएको यो फर्मबाट १ सय ५० घर परिवारलाई प्रत्यक्ष परोक्ष रोजगार आश्रित बनाउन सक्नुभएको छ । 

गाईको स्याहारदेखि लिएर गोठ सफाइँ, गाईको लागि दानापानीको तयारीदेखि लिएर खेतबारीमा यसको उत्पादनसम्म, साइलेन्स निर्माणदेखि लिएर वनौषधि तयार गर्दासम्म, दैनिकजसो हुने प्रजननदेखि लिएर बाछाबाछीको उचित सम्भारसम्म, गहुँत–गोबर बिक्रिदेखि लिएर दुधको बिक्रि–वितरणसम्म कर्मचारीको परिचालन रहरलाग्दो र जाँगरजाग्दो छ ।  

जेठो धनबहादुर युएनको जागिरको सेवाकाल निवृत्त भएसँगै यसैमा जोडिनुभएको छ । माइँलो पूर्ण प्राविधिक हुनुहुन्छ । साइँलो गोकुल अमेरिका हुनुहुन्छ । काइँलो प्रियस पनि साइँलो दाजुसँगै हुनुहुन्छ । अन्तरे बासु दमकमै खेतीपातीमा आधारित हुनुहुन्छ । जन्तरे कृष्ण यो व्यवसाय सुहाउँदो ढुवानीको काम गर्नुहुन्छ । जन्मनुभएका १२ मध्ये जीवित ११ जना दिदीबहिनीहरू क्रमशः गोमा, प्यारी, देवी, कुमारी, रिता, गीता, सरिता, सुशीला, प्रतिका, शर्मिला र प्रमिला सबैजना जम्मा हुँदा गौतमको घरमा सानोसानो मेला लागेको अनुभूति हुन्छ । 

परिवार ठूलो छ । समयक्रममा गरिखान लाखापाखा लागेका छौँ । दशैँ–तिहारबाहेक अरु बेला परस्पर भेटघाट सम्भव हुँदैन । दशैँ–तिहार पनि कहिलेकाहिँ मात्र, नत्र आधाउधीजनको उपस्थितिमा चाडपर्व मनाइन्छ । कान्छोबाहेक हामी सबै जोड बाँधिएका छौँ । सरदर २/२ जना बालबच्चाको धनी भएकै छौँ । यी लालाबाला सहित सबैजना एक ठाउँमा भएको बेला त एकले अर्कोलाई उसको नाउँमा पुकार्न नै गाह्रो हुन्छ– पूर्ण आफ्नो बडो रोचक र मज्जेदार अनुभव सुनाउनुहुन्छ । 

330937303_3533657490247750_1942584724550041884_nअनुदानले साँचो अर्थमा परिभाषित कृषकलाई अन्याय गरेको छ । कतिपय सन्दर्भमा त यो अनुदान रकम बालुवामा पानी खन्याए सरह भएको छ । पुग्नुपर्ने ठाउँमा अनुदान सहयोग पुग्दैन । पहुँचमा भएका सुकिलामुकिला वर्गका कागजी कृषकहरू सरकारको अनुदान खान लालयीत छन् । यसलाई कतिपयलाई आशक्ति बनाएको छ । राज्यले अनुदान तुरुन्त रोक्नुपर्छ । कृषिमा अनुदान होइन, बरु सहुलीयत ब्याज दरमा ऋणको प्रबन्ध गर्नुपर्छ, पाल्तु वस्तुको बीमा सुरक्षित गर्नुपर्छ र बजार व्यवस्थापनलाई प्रभावकारी बनाइनुपर्छ– पाथिभरा डेरी फर्मका प्रोपाइटर सुदीप गौतम सुनाउनुहुन्छ । अर्को एउटा प्रसंगमा उहाँ भन्नुहुन्छ– मानिस ५ करोडसम्मको रकमलाई घरजग्गामा फ्रिज गरेर बस्छ । कोठा भाडामा लगाउनुपर्ने, बस्ने कोही आएन भनेर भौतारिन्छ । तर, यति रकम व्यवसायको यो क्षेत्रमा लगाउने हो भने केही नभएर पनि सयौं श्रमिकलाई रोजगार दिन सकिन्छ र समयक्रममा मालिक बन्न सकिन्छ भन्ने कुरालाई हाम्रो जमातले अझैसम्म बुझ्न सकेको छैन । 

पाथिभरा डेरी फर्मको स्थलगत अध्ययन, यसले सिर्जना गरेको पराकम्पन र गौतम परिवारको यो जाँगर भरिएको कर्मले मलाई एकदमै लोभ्याएको छ, मनैमन निकै खुशी जगाएको छ । 

मेरो खुशी अझ धेरै चुलिन सकोस् ! यो रैथाने पेशा, व्यवसाय फैलिन सकोस् ! युवामाझ प्रेरणास्वरुप मौलाउन सकोस् ! अग्रगति र प्रगति प्राप्तिको सफलताको लागि धेरै–धेरै शब्द–शुभेच्छा ।