पथरी,२९ चैत्र । मोरङको  पथरीशनिश्चरे स्थित सि.एम.कन्दङ्वा स्मृति कोषले तीन विधाका राष्ट्रिय व्यक्तित्वलाई सम्मानित गरेको छ।

 मोरङको पथरीशनिश्चरे—१ मा स्थापित सि.एम.कन्दङ्वा स्मृति कोषद्वारा साहित्य, संगीत र पत्रकारिता क्षेत्रमा कार्यरत तीन जनालाई  कुल एक लाख ६५ हजार नगद राशीसहित सम्मानित गरिएको हो । 

पथरीशनिश्चरे—१ स्थित एभरेष्ट अंग्रेजी आवासीय माविद्वारा सञ्चालित कोषले छुट्टा-छुट्टै विधाको ३ जनालाई आज प्रमुख अतिथि नेपाल  प्रज्ञा प्रतिष्ठान काठमाडौंका  कुलपति भूपाल राईको बाहुलीबाट ताम्रपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियाे।

चन्द्रमान कन्दङ्वा (सीएम)को जन्म दिनको अवसर पारेर चैत्र २९ गते साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईलाई नगद १ लाख एक हजारसहित सि.एम.कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान—२०७९ बाट  सम्मानित भएका  हुन्। त्यसैगरी, दार्जेलिङ भारतका संगीतकार अनिल फागोलाई संगीत विधातर्फको  ५१ हजारसहित सि.एम.कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान—२०७९बाट सम्मानित भएका छन् भने  लामो समयदेखि पूर्वी मोरङलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका पथरीशनिश्चरेका पत्रकार अर्जुन जम्नेली राई सम्मानित भएका छन्। उनी ११ हजारसहित सुशिला.कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९बाट सम्मानित भएका हुन्।

उक्त  सम्मान समारोहमा नेपाल, भारत तथा अन्य स्थानहरूबाट साहित्यकार, संगीतकर्मी तथा पत्रकारहरूको विशिष्ट योगदान पुर्याउनु हुने व्यक्तित्वहरूको  उपस्थिति रहेको छ।

सिएन कन्दङ्वा स्मृति कोषका अध्यक्ष डा. रामनारायण कन्दङ्वाको अध्यक्षतामा भएको सम्मान समारोहमा  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका  तर्फकी पूर्व प्राज्ञ सरोजा खड्गी,साे काेषका सल्लाहकार युवराज बास्काेटा, वरिष्ठ समालोचक दधीराज सुवेदी, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापो,शिक्षा , यूवा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्ले, अधिकृत नवीन खुलाल , वरिष्ठ लोक गायक एल. पी. जोशी, गीतकार शिवशंकर थापा, कवि विवश पोख्रेल, कवि धनकुटे कान्छा,  लगायतका विभिन्न विधाका सर्जकहरूले कविता, गीत गजल  साथै कला-संगीत प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।