✍️ आचार्य अमृत 

- तास, जुवा, जाँड, रक्सी, खैनी, चुरोट आदिबाट सधैँ टाढा रहनै पर्ने ;
- परिश्रम गरेर खाने जनतालाई कहिल्यै झुटो नबोल्ने ;
- महिलाहरूसँग सधैँ सुसभ्य व्यवहार गर्नुपर्ने ;
- जनताबाट सित्तैमा सियो र धागोसम्म पनि नलिने ;
- सापटीका रूपमा लिएको नगद वा जिन्सी समयमा नै फिर्ता गर्नुपर्ने ;
- जानेर वा नजानी कुनै गल्ती गरिएमा त्यसप्रति आधिकारिक ठाउँमा आत्मालोचना गर्नै पर्ने ;
- जनतासँग नम्र बोली र व्यवहार गर्नुपर्ने ;
- मानिसहरूसँग कुरा गर्दा पत्यारिलो हुने गरी  गर्ने ;
- सिद्धान्तको आधिकारिक ज्ञान प्राप्त गर्न अध्ययनमा अब्बल हुनै पर्ने र सिकेको सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्नै पर्ने ;
- सरल जीवनशैली अपनाउने ताकि जनताले पत्याउन सकून् ;
- गोपनीयता कायम राख्न जस्तोसुकै सङ्कट आए पनि रत्तिभर विचलित नहुने .... ।

अनि यी कुरामा सहमति जनाएपछि मात्रै प्रशिक्षणको सुरुआत हुन्थ्यो । अघिल्लो पटक प्रस्तुत गरिएका सबै कुराहरू पछिल्लो समयको प्रशिक्षणमा व्याख्या गर्न सक्ने हुनुपर्थ्यो । अनुशासनमा अलिकति पनि आँच आउने काम गरिएछ भने गल्तीअनुसार दण्डित हुनुपर्थ्यो । अध्ययन गर्न नसक्ने व्यक्तिलाई माथिल्लो स्तरको जिम्मेवारी दिइँदैनथ्यो । विद्यार्थी सङ्‌गठनकाे जिल्लास्तरका नेताको अध्ययन   र तिनको भाषण सुन्दा यही नै पो पार्टी केन्द्रीय कमिटीको सदस्य हो कि जस्तो लाग्थ्यो । 

तर आज ?  माथिका कुरा पहिलो पटक देख्ने कमरेडहरू पनि नहोलान् भन्न सकिँदैन । अनि पार्टी सुन्निएर मोटाएको रहेछ भन्नुपर्ने अवस्था आएको छ अहिले । कम्युनिस्ट आचरण नभएपछि कसरी जितिन्छ जनताको मन र निर्वाचनमा आउँछ बहुमत ? बहुमत आइहाले पनि त्यो कसरी टिक्छ ? त्यसैले त नयाँ शक्तिहरूको उदय हुँदै गएको हो । अग्रजहरू नै आचरणबाट स्खलित भएपछि नयाँ पुस्ताकाहरूमा आचरण खोज्ने अधिकार हुन्छ कसैलाई ? 

यही हो अहिले आफूलाई कम्युनिस्ट भनाउन खोज्नेहरूको वास्तविक तस्बिर ।