काठमाडौं, १२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल मेडिकल बोर्डको सिफारिशबिनै भारतमा उपचार गर्न गएको तथ्य उजागर भएको छ । नेपालमै हुने सामान्य उपचारका लागि राज्यकोषको करोडौं खर्च हुने गरी मेडिकल बोर्डको सिफारिशबिनै राष्ट्रपति भारतमा उपचार गर्न जानुभएको तथ्य फेला परेको हो ।
कानूनअनुसार राष्ट्रपति बिदेशमा उपचार गर्न जाँदा मेडिकल बोर्डको सिफारिश अनिवार्य चाहिन्छ । बोर्डको सिफारिशबिना राज्यको खर्चमा बिदेशमा उपचार गर्न जान पाइदैन । तर राष्ट्रपति पौडेल भने स्थापित मान्यता र कानूनकै धज्जी उडाएर सामान्य उपचारका लागि भारत जानुभएको पाइएको हो । उहाँको यो निर्णयप्रति नेपाली चिकित्सकहरुले कडा आपत्ति र आक्रोस पोखेका छन ।
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ को दफा ९ को उपदफा १ मा उपचार खर्च शिर्षकमा प्रष्ट उल्लेख भएपनि उहाँ मेडिकल बोर्डको सिफारिस नलिई उपचार गर्न भारतको नयाँदिल्लीस्थित एम्स अस्पताल जानुभएको हो । उहाँ जाँदा एअर एम्बुलेन्सको खर्च मात्रै ५० लाख भन्दा बढी भएको तथ्य बाहिर आइसकेको छ ।
राष्ट्रपति पौडेल गत वैशाख ६ गते बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत जानुभएको हो । पत्रकार नारायणप्रसाद शर्माले मेडिकल बोर्डमा सूचनाको हक अन्तर्गत जानकारी माग्दा ७ गते विहिबारसम्म मेडिकल बोर्डले राष्ट्रपतिलाई विदेश लैजानका लागि सिफारिस नगरेको तथ्य पाइएको छ ।
वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले लिखित रुपमा बोर्डबाट सिफारिश नगरिएको जानकारी पत्रकार शर्मालाई दिनुभएको हो ।नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएको भन्दै उहाँलाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा.निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली रहेको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ को दफा ९ को उपदफा १ मा उपचार खर्च शिर्षकमा राष्ट्रपति वा उपराष्ट्रपति स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको उपचार खर्च नेपाल सरकारले ब्येहोर्नेछ भन्ने उल्लेख छ । तर, राष्ट्रपति पौडेल मेडिकल बोर्डको सिफारिस बिनै भारतमा उपचारका लागि जानुभएको हो ।




















