नेपालका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो स्वास्थ्य उपचार खर्च आफैं व्यहोर्ने  हुनु भएछ रे । अहिले चलिरहेको लोक रिझ्यांइको लहरमा महामहिम राष्ट्रपतिको  त्यस निर्णयले सर्वत्र तालि पक्कै पाउनेनै छ । उहाँको त्यही निर्णयलाई  लिएर हिजो मात्रै राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफैं व्यहोर्ने घोषणा गर्न सल्लाह दिने नेपाली काँग्रेसका महामन्त्री गगन थापाको पनि वाहवाहि होला नै ।

आफ्नो उपचारमा राज्यको ढुकुटी खर्च नगराउने रामचन्द्र पौडेलको त्यो निर्णयलाइ मेरो पनि सम्मान र निर्णयकर्तालाइ सलाम । यद्धपि राजनीतिलाइ सेवा बनाउनु पर्छ भनेर भन्ने हो भने सेवाभावले राजनीतिमा लागेर मात्रै त्यसको उच्च पदमा पुग्ने अवस्था बन्न पर्छ भन्ने हो भने त्यसो गर्नेहरु राष्ट्रपति, प्रधानमन्त्री वा अरु केहि हुँदा विरामी परेमा उनीहरु या त उपचार गर्न नै नसकेर मर्नु पर्छ वा भएको जायजेथा बेच्न वाध्य हुनु पर्नाले आर्थिक रुपमा चौपट हुनुपर्छ भन्ने सिद्धान्त बन्छ ।

हामी सबैलाइ थाहा छ माहामहिम राष्ट्रपति रामचन्द्र पौडेल इमान बेचेर सम्पत्ति कमाएको मानिस हैन तर पनि भएका सम्पत्तिहरुको भाउ बढनु अनि लोभ गरेर ( मितव्ययी भएर )  बचाएको धन सम्पत्तिले पनि साथ दिनुले उहाँले आफ्नो उपचार आफैं गर्छु भन्न सक्नु भयो होला अहिलेलाई  । तर के सदैव सवैको लागि त्यो सहज होला ? पक्कै हुदैन । अरुको कुरै छोडौँ झुपडी बाट उठेर सांसद  र उपराष्ट्रपति  हुनु भएका  राम सहाय यादव बिरामी हुनु भयो अनि रहरले नभएर वाध्यताले भारत वा अन्यत्र उपचार गराउन पर्ने भएछ भने वहाँले आफैं उपचार गर्न सक्नु हुन्छ ? पक्कै सक्नु हुन्न । अनि के त्यतिबेला  वहाँले देह त्याग गर्नु पर्ने हो ? अनि नेपालले आफ्नो उपराष्ट्रपतीलाइ उपचार गराउन नसकेर यसो भयो वा त्यसो भयो भनेर दुनियाले पढनु पर्ने हो ?

त्यस्तो अवस्था नआओस तर अहिलेको लोक रिझ्यांइको यही भद्दा ट्रेन्ड चलि रहने हो भने हुने त्यही हो । नत्र त हुनुपर्ने भनेको त आर्थिक अनुशासन कडाइका साथ पालना गर्ने , राजनीति प्रशासन देखि कुटनितिक क्षेत्र सम्म इमान्दारिताको जगेर्ना गर्दै सेवाभाव जन्माउने काम गर्ने पो गर्नुपर्छ । त्यसो गर्न तिमिले इमान र निष्ठापूर्ण ढंगले देशको सेवा गर अनि  तिमीलाइ भैपरी आउँदा देशले तिमीलाइ हेर्छ भनेर व्यवाहारिक सन्देश दिनु पर्दैन ?

तर राजकीय पदमा पुगेको र उनीहरुको गतिविधि दुनियाले थाहा पाउने अवस्था मात्रै यसो गर्न पाइन्छ त्यसो गर्न पाइन्न भनेर ढीन्डुरा पिटने हो भने  त मानिसले तल तल हुँदै टन्न कमाउने अनि माथि पुगेपछि इमान्दारिताको ढोंग गर्ने कार्य गर्नेछ । त्यस्तै हो भने नगरेर पनि त के गर्नु ? उपचारनै नपाएर मर्नु पर्ने जोखिम त राख्नु भएन नि ? सत्य यही हो  ! हैन कहाँ हुनु राष्ट्रपति , प्रधानमन्त्री वा अरु कुनै राजकीय पदमा पुग्ने वित्तिकै  सारा सब आफुले गर्न पर्छ ! नगरी कहाँ हुन्छ ? भन्ने हो भने चाहिं  अव नेपालको राष्ट्रपति विनोद चौधरी,प्रधानमन्त्री राजेन्द्र खेतान अनि अरु अरु पदमा यस्तै यस्तैलाइ बनाए हुन्छ ।