एजेन्सी । भारतको  बिहारमा  चर्को गर्मी र कडा घामको प्रकोपसँग लडिरहेको छ। पछिल्लो २४ घण्टामा पटनाका दुई प्रमुख अस्पतालमा ३५ बिरामीको मृत्यु भएको छ । जसमध्ये एनएमसीएचमा १९ र पीएमसीएचमा १६ जनाको मृत्यु भएको थियो ।

यति मात्र होइन, यस अवधिमा पीएमसीएचमा १०५ र एनएमसीएचमा ११० जना गर्मी स्ट्रोक र यससँग सम्बन्धित रोगबाट ग्रसित भएका छन् ।

गर्मीका कारण ३५ जनाको मृत्यु भएको छ

एनएमसीएचका डेपुटी सुपरिटेन्डेन्ट तथा मेडिसिन विभागका प्रमुख डा अजयकुमार सिन्हाले उपचारका लागि एनएमसीएचमा रिफर गरिएकामध्ये १६ जनाको उपचार सुरु हुनुअघि नै मृत्यु भएको र तीन जनाको उपचारका क्रममा मृत्यु भएको बताए । उनीहरु सबै गम्भीर अवस्थामा उपचारका लागि पुगेका थिए । गर्मी, बान्ता-पखाला, कम रक्तचाप, उच्च ज्वरो र टाउको दुख्ने जस्ता रोगका कारण उनीहरुको मृत्यु भएको हो ।

बिरामीको संख्यामा अचानक वृद्धि

एनएमसीएचमा सामान्य दिनमा दुईदेखि तीन जनाको मृत्यु हुने गरेको बताइएको छ । गर्मीको प्रकोपका कारण अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि एक्कासी बढेको पीएमसीएचका आकस्मिक इन्चार्ज डा एम सर्फराजले बताए । कतिपय गम्भीर बिरामी पनि मरिरहेका छन् । प्रारम्भिक उपचारपछि सामान्य भएका बिरामीलाई पनि वार्डमा सारिएको छ ।

गर्मीबाट पीडित सबै बिरामी

शनिबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मको ६ घण्टामा गर्मीका कारण १६ जनाको मृत्यु भएको पिएमसीएचका चिकित्साशास्त्र विभागका वरिष्ठ चिकित्सक डा पीएन झाले बताए । अत्याधिक टाउको दुख्ने, उच्च ज्वरो आउने, चक्कर लाग्ने, अर्धचेतना वा बडबड गर्ने, गर्मी हुने, बान्ता-पखाला लाग्ने, रक्तचाप अत्यन्त कम हुने जस्ता गुनासो लिएर गर्मीका बिरामी भर्ना हुने गरेको उनले बताए ।