• ✍️ आचार्य अमृत 

सानामा म ठूला मान्छेहरूले भनेको सुन्थेँ - 'त्यो वजन भएको मान्छे हो'  वा 'त्यो वजन भएको मान्छे होइन' । सुनेर मलाई लाग्थ्यो, के भन्या होलान् यिनले ! केही न केही वजन त जसको पनि भइहाल्छ नि ! त्यसबेला नबुझेको कुरा सोध्ने चलन थिएन । सोध्यो भने 'तँलाई किन चाहियो ?' वा 'अहिले जान्नु  पर्‍या छैन' वा 'त्यो तिमेरु जस्ताले अहिले  बुझ्दैनौ' वा 'धेर नकरा है !' यस्तै यस्तै प्रतिक्रिया हुन्थ्यो अहिले सम्झँदै लैजाँदा ।

उमेरका हिसाबले केही जान्ने हुँदासम्म पनि मैले मान्छेको वजनका बारेमा सही जानकारी प्राप्त गर्न सकिनँ । उही फलानाको वजन १०० किलो पुगेछ वा फलानाको वजनले डाँडो काटेछ वा यस्तै यस्तै मात्र सुनिन्थ्यो ।

मैले जान्नु थियो, बालककालमा सुनेकै वजनको वास्तविक अर्थ । जीवन जिउने क्रममा सङ्घर्ष गर्दै जाँदा वजन भएका र वजन नभएका मानिस बोधित हुँदै गए आफैँ, यसरी -

- ढिस्सिउँले १ महिनाका लागि भनेर डेड लाख रुपियाँ लगेको थियो । आज ७ महिना भइसक्यो, न पैसा बुझायो, न म्याद माग्यो, न फोन नै गर्‍यो । 

- हुकुमले धारा बनाइदिने भनेर १ लाख रुपियाँ लगेको थियो, यत्तिका दिन भइसक्ता पनि त्यो सम्पर्कमा आएन ।

- घोक्रानाके अङ्ग्रेजीमा मास्टर्स गरेको छु भन्थ्यो, तर अस्ति निकै जना भेला भएका ठाउँमा भन्दै थियो, 'He is a school master' भन्ने वाक्यमा Auxiliary Verb मात्र भएकाले त्यो वाक्य नै होइन ।

- दिवासा एउटा नामी विद्यालयमा नेपाली विषय अध्यापन गर्नुहुँदो रहेछ । तर कहिलेकाहीँ मञ्चमा गएर सम्बोधन गर्दा 'यहाँ उपस्थिति हुनुभएका ....' भन्न कहिल्यै छोड्नुभएन । कसले बुझाइदिने उहाँलाई 'उपस्थित' र 'उपस्थिति' को प्रयोग कहाँ कहाँ हुन्छ भनेर !

- भ्रम्बा धूमपान, मद्यपान केही पनि गर्दिनँ भनेर फुइँ लाउँथ्यो, अस्ति त अङ्ग्रेजीवाज नै हुँ जस्तो गरी सडकमा कराउँदै थियो ।

( यस्ता लत्थे कुरा गरेर साध्य छैन )

अब फेरि :

- त्यति सानो खेतबारीको आम्दानीबाट पनि निर्वेदले छोराछोरीलाई पढाएर आत्मनिर्भर बनाइछोड्यो ।

- एकपटक पनि कक्षा दोहोर्‍याउनु नपरी सोधनीले एमए, एमएड, एमफिल र पिएचडी पूरा गरेर उहाँ काठमाडौँको एउटा नामी क्याम्पसमा विभागीय प्रमुख हुनुहुँदो रहेछ ।

- वैदेशिक रोजगारीमा गएर ५ वर्ष बिताएपछि निमिन नेपाल फर्केर सड्ने फोहोरबाट अर्ग्यानिक मल र नसड्ने फोहोरबाट सम्भव हुनेसम्मका वस्तु रिसाइकल  गरेर नयाँ सामान बनाउने काममा लागेछ ।

- प्रोफेसरसँग बिहे गरेर गएकी + २ पास निलिन्जनाले बिहे भएको ६ वर्षमै एमबीए गरेर प्रशासनमा अधिकृत  भइछन् ।

- दलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारका रूपमा  चुनावमा उठेर सानदार विजय हासिल गरी काममा लागेका प्रमुख जनप्रतिनिधिले आफ्नो नगरको त कायापलटै पो गरेछन् । अब उनलाई कसैले चिनाइहिँड्नु पर्दैन अरे । मैले पो तिनको नाम भुसुक्कै बिर्सेछु, कस्तो नमज्जा पो भयो मलाई अहिले ।

( खोज्दै जाँदा भेटिँदा रहेछन् मानिसहरू )

अब मलाई कसैले भनिदिनै पर्दैन, को वजन भएको मान्छे हो, को वजन नभएको मान्छे हो भनेर । मानिसहरूको व्यवहार र गतिविधि हेरेर नै थाहा हुँदो रहेछ, भयो पनि ।