- तारा पराजुली
"हजुरआमाको बकपत्र"!
घर छेउको खोला साउनको महिनामा सुसाएझैँ एक दिन हजुरामाले सुस्ताउँदै भन्नुभयो- सात बर्षको उमेरदेखि एकैदिन नबिराईकन गरिआएँ उहीँ काम दिनमा पटकपटक बढारिरहेँ यो मझेरी यो आँगन यो सिकुवा र कोठाचोटाहरु- मेरी हजुरआमाले आफैँले बिताइगएको समय सम्झाउनुभयो मलाई। मैले थाहा पाउँदा पनि उसैगरी सधैंसधैँ कुचो पोचा लगाउनुहुथ्यो झन्डै नौ दशक काटेकी मेरी हजुरआमा। उमेरको माथिल्लो सिँढी उक्लँदै गरेकी मेरी हजुरआमा तराईको समथर सडकजस्तो पुरै तेर्सो ढाड लगाएर पनि कुनै दिन थाक्नुभएन मैले देख्दा थेग्न नसक्ने चौतारीको पुरानो पिपलबोट झैँ जिम्मेवारीका हाँगैहाँगा शरीर लिएर उहाँ बसीबसी घर्सिएर कुचो लगाउनुहुन्थ्यो। कहिले मलाई हात समातेर स्कुल लैजानुहुन्थ्यो र मेरो कक्षाकोठा आफैँ खरेटो लगाई सफा गरिदिएर घर फर्कनुहुन्थ्यो यी त मसिना सहायक काम भए अरु हजार काम गर्नुहुन्थ्यो झाडु लगाउनुबाहेक मेरी हजुरआमाले मात्र प्रचारका लागि भिडियो गर्नु भएन नाटकीय स्ट्न्डकै लागि भनेर क्यामेराको हुल बोकेर हिंड्नु भएन। कास!त्यो बेला केहि फोटोग्राफर हातमा स्मार्ट मोबाइल फोन भइदिएको भए संसारको सबैभन्दा लामो कथा संसारको सबैभन्दा शक्तिशाली कविता दुनियाँकै सुन्दर गीत र बिशाल ग्रन्थ मेरी हजुर आमाको नामको लेखिनेथियो।



















