• आचार्य अमृत
हेर्दा पढेलेखेको जस्तो देखिने तर ज्यादै दुब्लो मानिस सडकको पेटीमा टोलाएर उभिइरहेको देखेपछि को रहेछ यो मानिस भन्ने खसखस लाग्यो र नजिक गएर मैले "यहाँको घर कहाँ होला ?" भनेर सोधेँ । यो प्रश्नसँगै हाम्रो संवाद यसरी अघि बढ्यो :
- मेरो घर दाङको शान्तिनगर हो ।
- यहाँको शुभनाम ?
- मेरो नाम बबनकुमार हो । अनि तपाईँको नाम र ठेगाना के कहाँ हो नि ?
- म आचार्य अमृत हुँ । मेरो घर मोरङ जिल्लाको एउटा गाउँमा पर्छ । अनि तपाईँ यहाँ कसरी त ?
- मेरो कथा लामो र हृदयविदारक छ । म एउटा असीमित पीडित पात्रहरूमध्येको एक पात्र हुँ, आचार्यजी ।
- केही भन्न मिल्छ ?
- मिल्छ, किन नमिल्नु, तर मेरो कथा एउटै बसाइमा टुङ्‌गिन सक्ने अवस्था छैन ।
- सङ्क्षेपमै भए पनि सुनूँ नि त, बबनजी ।
- त्यसो भए ल सुन्नुहोस् है त !
- ल भन्न थाल्नुहोस् ।
- तपाईँलाई २०७९ को मदन पुरस्कार कुन कृतिले पायो भन्ने थाहा छ ?
- छ नि, विवेक ओझाद्वारा लेखिएको "ऐँठन" उपन्यासले २०७९ को मदन पुरस्कार प्राप्त गरेको थियो ।
- पढ्नचाहिँ भ्याउनुभएको छैन होला ।
- अँ, त्यो कृति हेर्न भ्याएको छुइनँ ।
- त्यो उपन्यास हेर्नुभयो भने मेरा बारेमा मात्र होइन, मानवतामाथि कतिसम्म क्रूरता हुन सक्तो रहेछ भन्ने कुरा तपाईँले छर्लङ्‌गसँग बुझ्न पाउनुहुनेछ ।
- म अवश्य त्यो उपन्यास पढ्नेछु । तपाईँले अहिले थोरै मात्र जानकारी गराउनुभयो भने पनि मलाई पुग्ने देखियो ।
- ल, म अब अघि बढ्छु् ।
- हुन्छ ।
- वास्तवमा म एउटा माध्यमिक विद्यालयको विज्ञान विषयको शिक्षक थिएँ । मेरो सानो र सुन्दर परिवार थियो । मेरी श्रीमती उर्मिला, सानो छोरो प्रह्लाद र म त्यस परिवारका सदस्य थियौँ । मुलुकमा युद्ध सुरु भइसकेको थियो, तर त्यस अमुक दिनसम्म हामीले कुनै अप्रिय कुराको सामना गर्नुपरेको थिएन । ( यति भन्नासाथ बबनका आँखाबाट बलिन्द्र धारा आँसु बग्न थाले, सर्टको बाहुलाले उसले आँसु पुछ्ने प्रयास गर्यो । त्यसबेला उसको गला पूरै अवरुद्ध भएको मैले अनुभव गरेँ ।)
- तपाईँलाई निकै गाह्रो भएजस्तो छ ।
- गाह्रै भएको छ, तर म भन्न लागेको कुरा भन्छु ।
- ल, म सुन्दै जान्छु ।
- त्यस दिन बेलुकीको खाना खाएर म प्रह्लादलाई कुनै रमाइलो बालकथा सुनाउन लागेको थिएँ । उर्मिला भाँडाकुँडा माझ्दै थिइन् । ठिक त्यसैबेला नजिकै बन्दुक पड्कन लागे । हामी भयभीत बन्यौँ र खाटमुनि लुक्न गयौँ । उर्मिला हामीभन्दा अलि पर थिइन् । त्यही बेला बन्दुकको गोलीले मेरा प्रिय स्वजनलाई छेडिसकेछ । गुहार माग्न सकिने स्थिति थिएन तैपनि मैले आफ्नी प्रिय पत्नी र छोरालाई भेट्ने र उपचारका लागि उनीहरूलाई स्वास्थ्य केन्द्र पुर्याउनका लागि त्यहाँ उपस्थित बन्दुकधारीलाई अनुरोध गरेँ, तर मेरो सुनुवाइ हुनु त कता हो कता, मैलाई बन्दी बनाएर घिसार्न थालियो । अनाहकमा मेरी उर्मिला र मेरो मुटुको टुक्रा प्रह्लाद मबाट गुम्न पुगे, अनि मलाई ज्यादै डरलाग्दो यातना दिँदै आफैँसँग लगे तिनले । मैले अनुमान गरेँ, तिनले उर्मिला र प्रह्लादलाई कहीँ नजिकै लगेर जमिनमुनि पुरिदिए होलान् । त्यस दुर्दान्त क्षणदेखि मैले उनीहरूलाई कहिल्यै पनि भेटिनँ, भेट्ने कुनै सम्भावना पनि रहेन ।
- त्यसो गर्नेहरू को थिए ? भन्न मिल्छ ?
- म यहाँ कसैको पनि नाम लिन चाहन्नँ । यति मात्र भन्छु, ती सबै मुलुकमा आमूल परिवर्तन गर्छौँ भनी हिँडेका मानिसहरू थिए । "ऐँठन" पढ्न पाउनुभयो भने ती सबैको नाम पनि देख्न पाउनुहुनेछ ।
- अनि तपाईँले कतिसम्मको यातना बेहोर्नु पर्यो त ?
- कुटाइपिटाइको त कुरै गर्नु परेन । तपाईँले त्यस पुस्तकको ९७ पृष्ठका सुरुका केही लाइनमा र २३ परिच्छेदभरि मैले पाएको यातना पढ्न पाउनुहुनेछ । अश्लील शब्दमा गाली त कति हो कति ! २३ परिच्छेदमा वर्णित यातनाचाहिँ तात्कालिक राज्यपक्षबाट भएको हो । यसरी मलाई दुवैतर्फको किचाघानमा पारेर आहत बनाइयो ।
- अनि अरूहरूलाई दिइएको यातना पनि कम ता थिएन होला नि ।
- किन कम हुन्थ्यो ! भक्तबहादुर केसीलाई जसरी मारियो, त्यस्तो त हिट्लरले पनि गरेको थिएन होला । असहाय महिला र बालिकाहरूमाथिको बलात्कारको कुरा गरेर साध्य छैन । मानिसभित्र त्यति धेरै क्रूरता हुँदो रहेछ भनेर मैले युद्धबन्दी बनाइएर कैयौँ समय हिँड्दा आफ्नै आँखाले देखेँ, जुन आज पनि सम्झँदा कहाली लागेर आउँछ । नारकीय जीवन कस्तोसम्म हुँदो रहेछ भनेर मैले त्यसैबेला थाहा पाएँ, आचार्यजी । अत्याचार दुवै पक्षबाट भएको थियो भन्ने कुरा म आफैँले देखेर अनुभव गर्न पाएँ ।
- अनि तपाईँचाहिँ कसरी बाँच्न सफल हुनुभयो त ?
- जसरी आज बाँचेकाहरू बाँचे, त्यसैगरी बाँचेँ भन्नुपर्ला । मलाई कुभिन्डे दहतिरबाट लगेका थिए भने मेरो बाँच्ने कुनै चान्स थिएन, बाँच्ने दिन रहेछ र त्यतातिरबाट लगेनन् । सुनेको थिएँ, कुभिन्डे दहको बाटो लगेका कोही पनि बन्दी बाँचेर आउँदैनन् अरे ।
- तपाईँले देखेकामध्ये सबैभन्दा भयावह क्षण कुन थियो ?
- मङ्‌गलसेनकाे आक्रमण । त्यो भनिनसक्नु, सुनिनसक्नु छ ।
- महिलाहरूमाथिको बलात्कार बारेको कुरा त गर्नुभयो । त्यसको प्रतिनिधि घटना कुन थियो होला, भन्न सक्नुहुन्छ ?
- चन्द्रकलाले "नाैरङ्‌गी माछा" शीर्षकको एउटा कथा आफ्नो डायरीमा लेखेकी रहिछ त्यो मैले पढ्ने अवसर पाएको थिएँ । त्यो उसैमा घटित भएको प्रतीकात्मक कथा रहेछ भनेर बुझ्न गाह्रो छैन । "ऐँठन" मा त्यो पूरै कथा पढ्न पाइन्छ ।
- ल, बबनजी तपाईँले कहालीलाग्दो आत्मकथा मलाई बताउनुभयो । त्यसका लागि धन्यवाद । तपाईँको कन्ट्याक्ट नम्बर दिइराख्नुहोला । "ऐँठन" पढेपछि पुन: म तपाईँलाई भेट्नेछु र अरू थप जानकारी लिनेछु । अहिलेलाई छुट्टिऔँ कि !
- हुन्छ, आजलाई यति नै गरौँ । नमस्कार ।
- नमस्कार ।