विराटनगर —मोरङको सुन्दरहरैचा नगरपालिकाले तीन स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा वडावासीले विशेषगरि सडक निर्माण, सडकको स्तरोन्नती, नदी नियन्त्रण, खानेपानी, कृषि, स्वास्थ्य, सीप विकास, विद्यालय सुधार लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुअघि सेवाग्राहीले सेवा–सुविधाको प्राप्तपछि कार्यालयबाट बाहिर निस्कने सेवाग्राही वा नगरपालिकाभित्रका १२ वटा वडामा स्थलगत अनुगमन तथा सूचना सङ्कलन गरी सेवाग्राहीको अभिमत(बर्हिगमन अभिमत) सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका विषय, भोगेका र देखेका कुराहरूलाई उल्लेख गरी पृष्ठपोषण गर्ने पद्धति(नागरिक प्रतिवेदन पत्र) अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको प्रमुुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । उनले सार्वजनिक सेवालाई अझ प्रभावकारी र परिष्कृत बनाउनका लागि नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु प्रभावकारी हुने बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रमबाट नागरिक र नगरपालिकाबिच दोहोरो सम्वाद स्थापित गरी जबाफदेहिताको संस्कार बसाउने र सार्वजनिक सेवा प्रवाह भरपर्दो र गुणस्तरयुक्त बनाउन नागरिकबाट रचनात्मक सुझाव प्राप्त भएको नगर प्रमुख केदारप्रसाद गुरागाईले बताउनुभयो ।
नगरपालिकाभित्रका १२ वटा वडाका ६०० जना सेवाग्राहीसँग नगरपालिकाले प्रवाह गरेको सेवाका विषयमा आकस्मिक तथा स्थलगत रूपमा सेवाग्राही सन्तुष्टि फारम भरि सार्वजनिक सुनुवाई गरिएकाले सार्वजनिक सुनुवाई कार्यक्रमले आगामी दिनमा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको प्रमुख गुराँगाईले बताउनुभयो ।

टेक मिडिया हाउस प्रालिले स्थलगत रूपमा ब्राह्मण, क्षेत्री, आदीवासी, जनजाति, दलित, मधेशी, अपाङ्गता, सिमान्तकृत समुदायको प्रतिनिधित्व हुने गरी सेवाग्राही सन्तुष्टि फारम भरेपश्चात सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेकोले कार्यक्रम प्रभावकारी भएको हाउसका अध्यक्ष रोशन प्रसाईले बताए । उनका अनुसार सुन्दरहरैँचा नगरपालिका वडा न.–३,४, ५ र ६ को सार्वजनिक सुनुवाई असार ६ गते सिग्देलवन्धु प्रतिष्ठान दुलारीमा, वडा न. –८, ९, १० र १२ को असार ७ गते जेसिज भवन विराटचोकमा र वडा न.–१, २, ७ र ११ को असार ११ गते साना किसान सहकारी सस्थाको सभाहल पत्थरघट्टामा सम्पन्न गरिएको थियो ।
तीनवटै कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु , नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।




















