पथरी— मोरङको बेलबारीदेखि ४ किलोमिटर दक्षिण यलम्बर चौक पुगेपछि एकाएक होम बास्कोटाको चर्चा सुरु हुन्छ । केहीबेर पक्की र केहीबेर कच्ची बाटो काट्दै जाँदा श्रीजंगा क्लबलाई दाहिना पारेर डाँगीहाटतर्फ मोडिँदै गर्दा केशल्या खोलामा पुगिन्छ । पुल हाल्न नसकिएको खोला तर्दै उक्लने क्रममा ४१ वर्षीय उद्यमी होम बास्कोटा मिरमिरे एग्रो प्रालिको ब्यानरमुनि मिरमिरे घाम र जुनसँगै हजारौँहजार पशुपंक्षीसँग नजिकिइरहेको, खेलिरहेको र जिस्किरहेको अवस्थामा भेटिनुहुन्छ ।

आफ्नो घरवरिपरि र गाउँबस्ती आधारित कैयौँ विधामा असल र सफल ठहरिनुभएका व्यक्ति र व्यक्तित्वको बारेमा अविश्रान्त ढंगले लेखिरहनुहुने स्रष्टा ईरानराईले केही समयअघि उद्यमी होम बास्कोटाको नवीनतम् उद्यमशीलतामाथि लेख्नुभएको थियो । यो पढेसँगै मलाई यो एग्रो प्रालि जान मन लागेको थियो । आज पार्टी काम विशेषले बेलबारी पुगेको थिएँ । काम बेलैमा सम्पन्न भएपछि मलाई त्यसतर्फ जान मन लाग्यो । भाइ साइँलोको सहयोग लिएर मध्यान्हसँगै हामी आफ्नो बन्धुको पौरख चाहर्दै र नियाल्दै मिरमिरे एग्रो प्रालि गयौँ, सोध्दैखोज्दै केहीबेरमा पुग्यौँ पनि ।

दैनन्दिनको रेखदेख, स्याहारसम्भार र जिम्मेवारीबोधका कारण मासिक पारिश्रमिकसमेत लिएर बस्नुभएका बास्कोटाबाहेक राजु डाँगी, नगेन्द्र अधिकारी, गोविन्द अधिकारी, जीतेन्द्र दाहाल र विष्णु बस्नेतको संयुक्त लगानीमा ७ वर्षअघि सञ्चालित मिरमिरे एग्रो प्रालिले सञ्चालन, उत्पादन र बजार व्यवस्थापनको यो छोटो समयमा विराटनगर र खनारमा आफ्नो आधिकारिक बजार बिस्तार गर्न भ्याएको छ ।

डेढ बिगाहा जमिनमा ५ ग्रेडका २५ हजार संख्यामा लेयर (अण्डा दिने) कुखुरा, बोयर प्रजातिका २ सय बाख्रा र मौसमअनुसारको सागसब्जीजन्य वस्तुको उत्पादनमाथि नजर लगाउनु उद्यमी बास्कोटाको दिनचर्या बनेको छ । माओवादी जनयुद्धकालमा वर्गवैरीविरुद्ध लडाइँ लड्दा मर्न परे पनि, मार्न परे पनि तयार भनेर होमिनुभएका बास्कोटालाई आजको राजनीतिप्रति उतिसाह्रो दिलचस्पी छैन । कुनै न कुनै प्रकृतिको मानवश्रम, श्रम व्यवस्थापन र यसको सम्मानजनक बजार पहिल्याउँदै पशुपंक्षी पालनमार्फत कृषिसुधारको कार्यक्रममा लाग्नुभएका बेलबारी नपा वडा नं. ८ स्थायी निवासी उद्यमी बास्कोटा स्वजागृत जाँगरका साथ साँच्चिकै केही गर्न चाहे देशभित्रै प्रशस्तै अवसरहरू देख्नुहुन्छ ।

Untitled-4 (1) 3उपहार नाउँको प्रशोधित पिउने पानीको समेत उत्पादन र बजार व्यवस्थापनमा लागेको बास्कोटा नेतृत्वको ५ सदस्यीय सहकार्यले अहिले मिरमिरे एग्रो प्रालि परिसरमा मात्र विभिन्न ८ वटा संयुक्त घरपरिवारलाई रोजगारी दिइरहेको छ । श्रीमती अम्बिका, छोरी अञ्जना र छोरा अनुजका अभिभावक होमनाथ बास्कोटा सामाजिक उत्तरदायित्व निर्वाहका ठाउँमा सुशासनको दृढ पक्षपोषण गर्ने समाजको एउटा गर्विलो मिसालका रूपमा चिनिनुहुन्छ ।

राज्यले कृषि उत्पादनको दरमा आधारित अनुदान, प्राविधिक सहयोग र ज्ञान सहयोग मात्र गर्ने हो भने अण्डा र मासुजन्य वस्तुको आयात रोक्न सकिने र क्रमशः यसलाई प्रतिस्थापन गर्दै नेपालले निर्यात बढाउन सक्नेमा उद्यमी बास्कोटा ढुक्क हुनुहुन्छ । सामान्यतः जनप्रतिनिधि, शिक्षक, कर्मचारी, पुलिस प्रशासक आदिले खुबै आलोचना खेपेको हुन्छ, असिनासरि खनिएको गाली सहेको हुन्छ तर कृषिमा संलग्न कृषकले आफैंमा कहिल्यै हेपिनुपर्दैन, आलोचित हुनुपर्दैन र गाली सहनुपर्दैन, सम्मानित पेशा लाग्छ ।

विडम्बना ! कागजी कृषकले सेटिङ मिलाएर राज्यबाट प्राप्त हुने कैयौँ शीर्षकअनुसारको सेवा–सुविधा र अवसरलाई दोहन गरेको देख्दा चाहिँ असजिलो मात्र होइन, आङ नै जिरिङ हुन्छ बास्कोटा क्रोध मुद्रामा पोखिनुहुन्छ । राज्यको वित्तीय संयन्त्रले कृषि उत्पादनको क्षेत्रमा ब्याज अनुदान ५ प्रतिशत भन्यो ऋण काडियो, विगत १ वर्षयता अनुदान उपलब्ध छैन, यसबाट कृषकहरू निरुत्साहित मात्र होइन, ठूलो मारमा परको उहाँको बुझाइ छ ।

कृषक र कृषिसँग मानिसको भोक–निदानको सम्बन्ध हुन्छ । यो जीवन निर्वाहका लागि सर्वाधिक महत्त्वपूर्ण पक्ष हो । पोषिलो हावापानी र परिवेश पनि अनुकूल भएकोले स्वदेशमै प्रशस्तै सम्भावना र अवसरहरू छन् । देखासेखी गर्नुपर्ने, ठालू पल्टनुपर्ने, यसनिमित्त सुकिलोमुकिलो हुनुपर्ने, अनावश्यक आडम्बरी बन्नुपर्ने आदि पात्रविशेष कमजोर प्रवृत्तिका कारण युवामाझ पलायन दर बढेको छ । यसलाई रोक्न सकिन्छ । यसनिमित्त राज्य गम्भीर बन्नुपर्ने उद्यमी बास्कोटाको जिकिर छ ।

देशभित्र गरिखानका लागि अवसर र सम्भावना नदेख्ने, देशबाहिर अवसर नियाल्ने, कृषि पेशामा निर्भर रहनु भनेको पछौटो हुनु हो भन्ने, कुनै पनि खालको श्रम र श्रमबजारलाई अपमानका दृष्टिकोणले हेर्नेमाझ तपाई एउटा ओज र क्रेजले आकर्षित प्रेरणास्रोतस्वरुप दृष्टान्त बन्नुहोस्... धेरै–धेरै शुभकामना !

✍️ युवराज बास्कोटा, पथरी, मोरङ ।