मोरङ — मोरङको रतुवामाई नगरपालिका–७ मलामीघाटमा जुवा खेल्ने तयारी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक कैलाश लिम्बुको कमाण्डमा गएको टोलीले आइतबार राति करिब ११:३० बजे मलामी बस्न बनाइएको घरमा छापा मारेको थियो। सो समयमा करिब ५० देखि ६० जना मानिस भेला भएका थिए। प्रहरी पुग्नेबित्तिकै तीमध्ये धेरैजना तितरबितर भएर भागे पनि सात जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा खानतलासी गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरूको साथमा प्रत्यक्ष जुवाजन्य सामग्री नफेला परे पनि वरिपरि खोजतलास गर्दा घरको बिममा कौडामा प्रयोग हुने पाउडर, रुमालमा बाँधिएका १५ थान कौडा, एक बुक तास र एक थान इन्भर्टर फेला परेको थियो। साथै, उनीहरूबाट नेपाली नगद ६५ हजार ६५० रुपैयाँ र भारतीय २ हजार ५०० रुपैयाँ समेत बरामद गरिएको छ।
प्रहरीले पक्राउ परेका बुद्धिमान बस्नेत, देवीप्रसाद प्रसाईँ, लक्ष्मीप्रसाद मैनाली, ओम भट्टराई, रत्नबहादुर कार्की, वीरेन्द्र साह र विवेक साहलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखी अनुसन्धान सुरु गरिएको जनाएको छ।



















