काठमाडौं—जेनजी आन्दोलनपछि मुलुकको सबै क्षेत्र प्रभावित छ । मूलक नै तहसनहस पार्ने ग्य्राण्ड डिजाइनअनुसार भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको छवि धुलिसात बनेको छ । शान्तिका पुजारी नेपाली भनेर बुझेका विदेशीले ‘आतङ्ककारी’ हरूको देश भन्न थालेका छन् । जेजनी आन्दोलनमा निसानामा परेको नेकपा एमाले र त्यसको अध्यक्ष केपी शर्मा ओलीमाथि अहिले पनि निरन्तर प्रहार भइरहेको छ ।
भदौ २३ गते भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभयो । ओलीको राजीनामापछि मूलकमा जताततै विध्वंस मच्चाइयो । एमालेको केन्द्रीय कार्यालयदेखि नेताहरूको घर छानिछानी जलाइयो । कुनै पदमा नभए पनि ओलीको बचाउमा लागेकाहरूलाई ज्यान मार्ने धम्की दिएर चुप बस्न आदेश दिइयो । फोन, म्यासेजदेखि सामाजिक सञ्जालमा फोटो राखेरै आपराधिक जत्थाले ज्यान मार्ने र घर जलाउने भन्दै आतङ्क मच्चाए । भदौ २३ र २४ को घटनापछि एमाले र केपी ओलीको पक्षमा उभिएकाहरू सबैभन्दा बढी निसानामा परे ।
जेनजीको नाममा घुसपैठ भएको आपराधिक तत्त्वले यतिसम्म आतङ्क मच्चायो कि, एमालेकै पदाधिकारी, स्थायी समिति, केन्द्रीय कमिटी, प्रदेश र जिल्ला अध्यक्षहरूले समेत एकसातासम्म मुख खोलेनन् । ५०–५२ जनाबाहेक अहिलेसम्म पनि एमालेका केन्द्रीय सदस्यहरू जेनजी आन्दोलनको नाममा भएको घुसपैठ र आपराधिक कामविरुद्ध बोल्ने आँट गरिरहेका छैनन् । बरु उल्टै विदेशीको योजनामा चलेका बालेन साह र सुधन गुरुङकै भाषामा अध्यक्ष ओलीकै विरुद्धमा लागेका छन् ।
एमालेमा रहे पनि कहिल्यै सूर्यमा भोट नहालेका र टोलमै आफूबाहेक कोही पनि एमाले बन्न नदिने भनेर उपमा पाएका केन्द्रीय सदस्यद्वय उषाकिरण तिम्सिना र अरविन्द सिंह त यही हो मौका भनेर ओलीकै विरुद्ध लागेर जेनजी उक्साउनेतिर हामफाले । शिक्षक भए पनि खेताला राखेर कहिल्यै विद्यालय नपुगेका अरविन्द सिंह र विदेशीको डोनेसनमा चलेको घनश्याम भुसालको संस्थाकी हताकर्ता तिम्सिनाको आफ्नै टोलमा हैसियत नभए पनि पार्टीको पदीय हैसियतले सबैले चिने । उनीहरू जुन थालमा खायो त्यसैमा आची गरेर हिँडे । तर कुनै पदमा नभएका र जिम्मेवारीविहीन बनाइएका कोशीका रामप्रसाद रिजालले भने गाली सहेरै भए पनि केपी ओलीको पक्षमा निरन्तर भिड्ने काम गरेका छन् । जेनजी आन्दोलनकै क्रममा पनि रिजाल एमाले र ओलीको पक्षमा भिडेर बसे ।
भदौ २४ गते प्रधानमन्त्री निवास बालुवाटारबाटै हेलिकोप्टरमा सुरक्षित स्थलतर्फ जानुपरेपछि ओलीको पक्षमा सदैव लागेका भनेर एमालेमा पद हत्याएकाहरू समेत लापत्ता भए । उनीहरू अझै लापत्ता छन् । एकाध व्यक्ति दसैँमा पुगेर बा भन्दै टीका थापेर हिँडेका छन् तर विरोधीको डरले एमाले र केपी ओलीको सही कामको पक्षमा उभिन सकिरहेका छैनन् ।
रिजालले भने भदौ २५ गते नै लेख्नुभयो, ‘केपी ओली अर्थात जनजनको मनमा सजिएका ‘केपी बा’ जतिपटक प्रधानमन्त्री मन्त्री हुनुहुन्छ, त्यति नै पटक अनेकौँ कृत्रिम विषयहरू उत्पादन गरेर झमेला सृजना गरिन्छ । कृत्रिम आरोपहरू लगाइन्छ । सायद यो देशमा यस्ता विषयहरूलाई सजिलै सामना गर्न सक्ने सामर्थ्य आजको दिनमा अन्य नेताहरूसँग भन्दा केपी बासँग बढी नै छ ।’ रिजालको यो स्ट्याटसले अरूलाई पनि लेख्न प्रोत्साहित गर्यो ।
त्यसयता पनि रिजाल ओलीको पक्षमा भिडिरहनु भयो । रिजालले फेसबुकमा लेख्नुभएका केही छ :
–पहिलो पटक प्रधानमन्त्री हुनुभयो आफ्नै छिमेकीले दिएको दुःखसँग लड्न पर्यो । लडाइँ निकै पेचिलो बन्यो तर आम नेपालीको साथले जित्नु नै भयो । त्यही दिन सम्झेर होला आज पनि छिमेकीको कर्के नजर छ तपाईँप्रति ।
– प्रकृतिले दुःख दियो, भूकम्पले पुर्याएको निकै ठुलो क्षतिसँग लड्नु पर्यो । अनेकौं अप्ठ्याराहरूमा पनि जनताका घर उठाउन सक्नु र राहत दिन सक्नु तपाईँको महान् सफलता थियो ।
दोस्रो पटक प्रधानमन्त्री हुनुभयो विश्वभरि तहल्का मच्चाउने महामारी (कोरोना ) को सामना गर्नु पर्यो । सुझबुझ नपुर्याएको भए, कार्यसम्पादनमा क्षमता नदेखाएको भए सायद एक हप्तामा नेपाल ध्वस्त हुने थियो होला । तर तुलनात्मक रूपमा कम क्षति हुनुमा तपाईँले प्रदर्शन गर्नुभएको कुशलता नै थियो ।
– तपाईँले यस्ता झमेला बेहोर्नु परेको मात्रै कहाँ होर बिरलै मानिसले मात्रै सामना गर्न सक्ने रोगको सिकार बन्नुभयो । दोस्रोपटक किड्नी ट्रान्स्प्लान्ट सफल जब भयो आफ्नै भन्नेहरूले दिएका प्रताडना कति थिए कति जुन धेरै सम्झिरहन मन पनि छैन । तेस्रो पटक पनि आफ्नै भन्नेहरूका दाउपेचसँग लडाइँ लड्न पर्यो तर पनि तपाईँ असफल हुनुभएन । यस्ता कठिनाइका बाबजुद तपाईँले देशलाई सपना मात्रै देखाउनु भएन कयौँ विषयहरू बिपनामा परिणत गरिदिनु भयो । आज चौथो पटक प्रधानमन्त्री हुनुहुन्छ फेरि पनि डे वन देखिकै चौतर्फी प्रहार छ, कृत्रिम आरोप छ । जसले नेपाल स्वाभिमान छ, नेपाली स्वाभिमानी छन भनेर प्रमाणित गर्यो । यही देशका नागरिकले नबुझे अरू कुन देशले बुझिदिने होर यस्ता विषय ।
देशमा स्थिरता भएन, देशको अर्थतन्त्र बलियो पनि छैन, यसभन्दा अगाडिको सरकारका प्रधानमन्त्री र अर्थमन्त्रीले बनाएको बजेटमा व्यापक रूपमा अनुशासन उलङ्घन छ । त्यही बजेटले धेरै ठुलो नतिजा दिन सक्दैन तर पनि अर्थतन्त्रमा आशा जगाउन थालेको, भौतिक पूर्वाधारको क्षेत्रमा विकासले गति लिन थालेको कुरा एमाले सम्बद्ध मिडियाले होइन अरू मिडियाहरूले वास्तविक तथ्याङ्कका आधारमा लेखेका छन् ।
शिक्षक भए पनि खेताला राखेर कहिल्यै विद्यालय नपुगेका भनेर पर्सातिर आरोप लागेका सिंह र विदेशीको डोनेसनमा चलेको घनश्याम भुसालको संस्थाकी हताकर्ता तिम्सिनाको आफ्नै टोलमा हैसियत नभए पनि पार्टीको पदीय हैसियतले सबैले चिने । उनीहरू जुन थालमा खायो त्यसैमा आची गरेर हिँडे । तर कुनै पदमा नभएका र जिम्मेवारीविहीन बनाइएका कोशीका रामप्रसाद रिजाल भने गाली सहेरै भए पनि केपी ओलीको पक्षमा निरन्तर भिड्ने काम गरेका छन् । जेनजी आन्दोलनकै क्रममा पनि रिजाल एमाले र ओलीको पक्षमा भिडेर बसे ।
–हामी सुन्छौँ केही केही पात्रहरू घरीघरी त ती कसैका परिचालित अनुचरहरू नै हुन जस्तो लाग्छ जसले एकै दिनमा दर्जनौँ स्ट्याटस लेख्छन् र कयौँ भिडियो सार्वजनिक गर्छन् । निराशा बाँड्ने, सबैभन्दा बढी प्रधानमन्त्रीका रूपमा सफल भएका ओलीलाई सराप्ने, त्यसपछि कांग्रेसका सभापतिलाई र मलिन स्वरमा प्रचण्डलाई पनि । यसरी सार्वजनिक गरिने धारणा बुस्ट गर्छन्, फेक आइडी बनाउँछन् मूलधारको राजनीतिलाई सिद्ध्याउने प्रि प्लानमा नै समाचार उत्पादन गर्छन् र प्रचार गर्छन् । अमेरिकामा बस्ने एकजना व्यक्ति छन् जो नेपाल टेक्दैनन् त्यहीँ बसेर नेपाल सिद्धियो भन्ने प्रचार सामग्री बनाएर बुस्ट गर्छन् । अमेरिका जस्तो देशमा नेपालमा निराशा फैलाउन प्रत्येक दिन घण्टौँसम्म खर्चिन समय कसरी सम्भव छ होला ? जब विदेशमा बसेर आफ्नै निजी काममा व्यस्त नभए गुजारा गर्न कठिन हुन्छ । उनी को बाट परिचालित छन् शङ्कास्पद नै छ । त्यसैले नेपाल सिद्ध्याउन नेपाललाई स्वाभिमान बनाउन पर्छ भन्ने नायक सिद्ध्याउन पर्छ । त्यसपछि मूलधारका पार्टी, स्थापित राजनीतिक दल सिद्ध्याउन पर्छ भन्ने सोचका साथ गरिएका डिजाइन बुझ्नले कुनै कठिन छैन । त्यसैले एक पटक होइन हजार पटक जनतालाई बताएर बुझाउन जरुरी छ, ‘केपी ओलीविरुद्धको मिसन नेपाल विरोधी मिसन हो । यसको दृढतापूर्वक प्रतिवाद गरौँ र जनतालाई सच्चाइ बताउने अभियानका साथ त्यसै गरौँ ।
एमालेका युवा नेता रिजालका यी कुराले जस्तोसुकै कठिन समयमा पनि ओलीलाई साथ दिने परिचय दिएको छ । केपी ओलीको नजिक देखाएर मालामाल बनेका नेताहरूसमेत भागेको बेला जिम्मेवारीविहीन रिजालको यो भिडाइ पोलिटब्युरो सदस्य महेश बस्नेतको भिडाइ जत्तिकै सबैको नजरमा परेको छ ।
रिजालले यो विषयमा पार्टी नेताहरूकै डरपोक शैलीमाथि पनि प्रहार गर्नुभएको छ । रिजालले भन्नुभएको छ, ‘पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको वेलामा समेत प्रतिवादमा हामी भुइँमान्छेहरुले मात्रै हो त भिड्ने र गाली खाने ? आज हिजोको जस्तो लुकिछिपी राति राति पार्टी निर्माण गर्न हिँड्नु छैन । युग बदलियो–प्रविधि भित्रियो, हाम्रो कामको शैली पनि बदलियो । सामाजिक सञ्जालमा निजी आइडी नभएको र स्मार्ट फोन नबोक्ने सायदै कोही पार्टी कमिटीमा होलान् । मोबाइलको स्क्रिनमा पार्टीका श्रद्धेय अध्यक्षको दाहसंस्कारसम्मको तुच्छ भिडियो हेरेर तिम्रो शरीरमा एउटा काँडा पनि उठेन ? यस्तो तल्लो स्तरको हर्कत सम्बन्धमा एक पोष्ट वा कमेन्टसम्म लेखेनौँ भने तिमी नेकपा एमाले हुनुको कुनै अर्थ रहँदैन । हरेक मोर्चामा डटेर लड्नु पर्ने बेलासमेत नेतृत्वसँग फोटो खिच्नमा मात्रै तँछाडमछाड देखिन्छ तर खोइ आक्रमण विरुद्ध प्रतिवादमा खरो उत्रेको ? अब हरेक नेता देखि कार्यकर्तासम्मका सामाजिक सञ्जालका गतिविधिहरू निगरानी राख्नु पर्ने देखिन्छ । नेतृत्वसङ कुम जोडेको फोटो कति हाल्यो अनि पार्टी र नेतृत्व विरुद्धको आक्रमणको प्रतिवादमा कति लेख्यो, कति बोल्यो । आज पार्टी मूल्याङ्कनको एक नयाँ आधार यो पनि बन्नुपर्छ । अब हरेक पार्टीका सदस्य हरूले चिया चौतारी देखि मेलापात लगायत मानिस हरूको भिडभाड हुने ठाउँमा पार्टी र नेतृत्वले गरेका कामहरूको प्रचार गरौँ ।’
रिजालले थप लेख्नुभएको छ, ‘प्रतिकुल परिस्थिरमा दुलामा पस्नेलाई राष्ट्र र पार्टीको पक्षमा बोल्न लेख्न नसक्नेलाई नेतृत्व बाट अब बिदा गर्दा हुन्छ । सङ्गठनमा असहज परिस्थितिमा काँध थापेर ढाडस दिने नेताको आवश्यकता पर्छ । राष्ट्र जलेको छ, खरानी भएको छ, मुलुकमा शान्ति सुव्यवस्था छैन, मुलुक राज्यविहीन, अभिभावकविहीन भएको छ । सरकार आफै मुलुकलाई द्वन्द्वमा फसाउन खोजिरहेको छ । यो कठपुतली सरकार स्वार्थ समूह र विदेशी प्रभुलाई खुसी पार्न रिझाउन तल्लीन छन् । देशमा दण्डहीनता बढिरहेको छ । मुलुक यस्तो विषम परिस्थितिमा हुँदा टुलुटुलु हेरिरहने नेताहरूलाई अब नेता मान्न सकिँदैन, नेतृत्वमा ल्याउन सकिँदैन । त्यस्तै केही नेता पार्टी नेतृत्वको आलोचनामा व्यस्त छन् । पार्टी लाई मजबुत बलियो एकताबद्ध बनाउँदै कांग्रेसलगायत अन्य लोकतान्त्रिक सक्तीहरूसँग हातेमालो गर्दै अघि बढ्ने बेलामा पार्टी नेतृत्व विरुद्ध विष वमन गर्दै हिँडिरहेका छन् । चेतना होस यी सबै किसिमका गतिविधि हरूको समय आएपछि हिसाबकिताब तथा मूल्याङ्कन हुन्छ, हुनुपर्छ ।’ जनता टाइम्स बाट




















