काठमाडौं— भेनेजुएलामा अमेरिकाले गरेको सैन्य कारबाहीका क्रममा ३२ जना क्युबाली सेना तथा प्रहरी अधिकारीको मृत्यु भएको क्युबाली सरकारले पुष्टि गरेको छ।
क्युबाली सरकारका अनुसार ती अधिकारीहरू भेनेजुएला सरकारको अनुरोधमा त्यहाँ सुरक्षा तथा सैन्य कार्यमा संलग्न थिए। क्युबाली सरकारी टेलिभिजनमार्फत जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रा नागरिकहरूले आफ्नो जिम्मेवारी इमानदारी र वीरतापूर्वक पूरा गरे। बमबारीका क्रममा उनीहरूले ज्यान गुमाए, तर कर्तव्य सम्मानपूर्वक निर्वाह गरे।”
घटनापछि क्युबाले दुई दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। शोक अवधिमा राजधानी हाभानासहित देशभर सार्वजनिक कार्यक्रम तथा सरकारी समारोह स्थगित गरिएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त कारबाहीमा अमेरिकी पक्षतर्फ कुनै मानवीय क्षति नभएको दाबी गरेका छन्। उनले भने, “अर्को पक्षमा धेरै जनाको मृत्यु भयो, तर हाम्रो पक्षमा कोही मरेको छैन।” एसोसियट प्रेसका अनुसार ट्रम्पको भनाइले अमेरिकी सैन्य अभियान सफल र लक्षित रहेको सन्देश दिन खोजिएको देखिन्छ।
अमेरिकी अभियान भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको नियन्त्रणमा रहेका स्थानहरूमा केन्द्रित रहेको र मदुरोलाई नियन्त्रणमा लिएर अमेरिका ल्याउने उद्देश्य रहेको बताइएको छ।
क्युबा र भेनेजुएला लामो समयदेखि नजिकका राजनीतिक तथा सैन्य सहयोगी राष्ट्रका रूपमा चिनिन्छन्। क्युबाले विगतदेखि नै भेनेजुएलामा सुरक्षा, सेना र प्रहरी अधिकारी पठाउँदै आएको छ। पछिल्लो घटनाले भेनेजुएलामा क्युबाली सैन्य उपस्थितिको भूमिकामाथि अन्तर्राष्ट्रियस्तरमा थप ध्यानाकर्षण गराएको छ।
विश्लेषकहरूले यस घटनालाई अमेरिकी–क्युबा–भेनेजुएला सम्बन्धमा नयाँ तनावको संकेतका रूपमा व्याख्या गरेका छन्। आगामी दिनमा क्युबाली सरकारको प्रतिक्रिया र अमेरिकी प्रशासनको रणनीति अन्तर्राष्ट्रिय समुदायका लागि विशेष निगरानीको विषय बन्ने अपेक्षा गरिएको छ।



















