भूमिप्रसाद पाठक,

आश्विन ८, बेलबारी । कलाकार राघव क्यान्सर रोगले पीडित भएको खवर थाहा पाएपछि बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली उनलाई भेट्न उनको निवास पुगेकी छिन् ।

बिहिवार जनप्रतिनिधिहरु वडा नं २ की खीना थापा बस्नेत, वडा नं ३ की निशाकिरण राई वडा नं ४ की आनन्द मोते सहित पुगेकी उपमेयर पराजुलीले कलाकार राघवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । उनले नगरपालिकाको पहिलो सम्पत्ति नै नागरिकको स्वास्थ्य भएका कारण राघवको विग्रदो स्वास्थ्य अवस्थाप्रति नगरपालिका परिवार चिन्तित रहेको बताइन् । राघवको प्रतिभाका कारण स्थानीय संघ संस्थाले थप उचाइ प्राप्त गरेका छन् ।

बेलबारीले थप पहिचान पाएको छ । तसर्थ बेलबारीको एउटा सुन्दर परिचयको रुपमा स्थापित राघवलाई बचाउने दायित्व हाम्रो (स्थानीय सरकारको) पनि हो । त्यसैले उनको उपचारमा पालिकाको तर्फबाट सहयोग भइरहेको छ । थप उपचारको लागि पनि पहल गरिने छ- उपप्रमुख पराजुलीले भनिन् । वडाका जनप्रतिनिधिसहित राघवको घर पुगेकी उपमेयरले आर्थिक अवस्था अत्यन्तै दयनीय भएका राघवको परिवारलाई चामल, दाल, नुन, तेल साबुनलगायत खाद्यान्न र अत्यावश्यक सामग्री राहतस्वरूप उपलब्ध गराएको उपमेयर पराजुलीले बताइन् ।


बेलबारी ९ भक्काचोक निवासी कलाकार राघव विगत ७ महिनायता लिभरक्यान्सरका कारण ओछ्यानमा छन् । आफ्नो प्रतिभाका कारण स्थानीय विकासमा अनेकौं योगदान पुर्‍याउँदै आएका कलाकार राघवलाई देश विदेशबाट सहयोग जुट्नेक्रम जारी रहेको स्थानीय समाजसेवी गंगा श्रेष्ठले बताइन् । उपमेयर पराजुलीले स्थानीय कलाकार, स्रष्टा र साहित्यिक व्यक्तित्वहरू स्थानीय समाजका लागि गहना भएकोले यसको संरक्षण गर्नुपर्ने समेत आफ्नो दायित्व रहेको दावी गरिन् ।