भूमिप्रसाद पाठक,
पथरी,१६ कार्तिक । मोरङको पथरी शनिश्चरे नगरभित्र नेपाल टेलिकमले आफ्नो फोर–जी सेवा बिस्तार गर्ने भएको छ ।

सामाजिक सञ्जालबाट जनगुनासो पाएको टेलिकमले आज मूलतः पथरी शनिश्चरे नपाको वडा नं. १० अवस्थित जिरिखिम्ती खण्डमा स्थलगत अध्ययन अवलोकन गरेसँगै वडा नं. ८ का नेकपाका भरोसायोग्य नेता प्रकाशबहादुर कार्कीको पहलमा दुर्गा आधारभूत विद्यालय, शुक्रबारे, सोमबारे, पशुपतिचौक, दोहलुलगायत क्षेत्रको समेत सेवा प्रवाहको अवस्थाको अध्ययन गरेको छ ।


भयो के भने नेकपाका युवा नेता युवराज बास्कोटाले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत एउटा स्टाटस राख्नुभयो । स्टाटस राखिएको केहीबेरमै नेपाल टेलिकमका जिम्मेवारहरुको ध्यान पुग्यो र केही प्रतिक्रिया सोही सञ्जालमा र केही प्रतिक्रियात्मक कबोल टेलिफोन संवादमा भयो । यसको भोलीपल्ट अर्थात् आजै मध्यान्हतिर क्षेत्रीय निर्देशक अमीत भगतको निर्देशनमा नेपाल टेलिकमका इञ्जीनियर शिशिर फूयाँल र सिनियर टेक्निसियन राजीवरञ्जन राउतको टीमले स्थलगत निरीक्षण गर्‍यो ।


वडा नं. १० को कार्यबाहक अध्यक्ष मैनादेवी आचार्य फूयाँलले नेपाल टेलिकमको द्रुतत्तर सेवा प्रवाहका लागि भएको प्रयासप्रति खुशी व्यक्त गर्नुहुँदै स्थलगत अध्ययन आरम्भ गर्न लागेको टीमलाई स्वागत गर्नुभएको थियो ।


यसलगत्तै वडा नं. ८ पुगेको टेक्निसियन टोलीले चौतर्फी अध्ययन गरेसँगै केही प्रक्रिया पूरा गरेर यस क्षेत्रमा फोर–जी सेवा प्रवाह बिस्तार हुने टोलीमा संलग्न इञ्जीनियर फूयाँलले बताउनुभएको छ । इञ्जीनियर फूयाँलले अहिलेसम्म कतैबाट गुनासो नभएकोले नेपाल टेलिकमको ध्यान नपुगेको तर्क राख्नुहुँदै तत्काल सेवाग्राहीबीच परस्पर बोलिएको आवाज पुग्न र सुन्न सक्ने यसको सम्प्रेषण क्षमता बढाएर र समयक्रममा टावर राखेर यहाँको सेवा–प्रवाह चुस्त हुने बताउनुभयो ।


नेपाल टेलिकमको स्थलगत अध्ययन, अनुसन्धान र प्रतिवेदन निर्माणकार्यमा स्थानीय नेता प्रकाशबहादुर कार्की, शैक्षिक व्यक्तित्व अर्जुनबहादुर तामाङ, युवा व्यक्तित्व बाबुराम चौधरी र सञ्जीव भण्डारी, पत्रकार भूपेन्द्र तिम्सिना र भूमिप्रसाद पाठक, स्थानीय सामाजिक अभियन्ता सन्तबहादुर तामाङको सक्रिय संलग्नता रहेको थियो ।