रामेछाप । राष्ट्र सेवक प्रशासक मात्र होइन नागरिकको सेवक हुनुपर्छ । सेवा लिन नागरिक नआइपुग्न पनि सक्छन् तर राष्ट्रसेवक हरेक नागरिकको सेवामा हाजिर हुनुपर्छ ।
त्यसैलाई रामेछापको प्रशासनले अंगिकार गर्न सुरु गरेको छ । विगतमा विपदमा परेकाले पीडा पोख्ने ठाउँ समेत नपाएको जिल्लामा अहिले उनीहरुको पीडामा राज्यसँगै भएको अनुभूति दिन स्थानीय प्रशासन लागेको छ ।
विपदमा परेकालाई राहत दिन राहत सामाग्री बोकेर प्रमुख जिल्ला अधिकारी आफै घर घरमा जान लाग्नु भएको छ । त्यो पनि ढिलोढालो होइन सकेसम्म चाँडो ।
यसैक्रममा सोमबार आगलागीमा परि घर जलेका तीन परिवालाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सोमबारै उहाँहरुको घरमा पुगेर राहत सामाग्री वितरण गर्नुभएको छ ।
मन्थली नगरपालिका–१२ गेलुका मक्करबहादुर बुढाथोकी, मनोज बुढाथोकी र नारायण बुढाथोकीको घर सोमबार दिउँसो आगलागीबाट जलेर नष्ट भए । आगलागीबाट घर जलेर उनीहरु बेघर भएको खबर थाहा हुने बित्तिकै प्रमुख जिल्ला अधिकारी सहितको टोली घटनास्थलमा पुगेर राहत वितरण गरेको छ ।
पीडित मध्ये दुई परिवालाई १५ हजार रुपैँयाका दरले नगद तथा एक परिवारलाई १० हजार नगद प्रदान गरिएको थियो । त्यस्तै टेन्ट, त्रिपाल, कम्मल, लुगाफाटो, भाँडावर्तन लगायतका राहत सामग्री समेत वितरण गरिएको थियो । आगो नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको थियो ।सनराइज खवरबाट



















