पथरी शनिश्चरे, २९ मंसिर ।  शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को सहयोगमा लुथरन विश्व फेडेरेशनले मोरङको पथरीशनिश्चरेमा भूटानी शरणार्थी र त्यसबाट प्रभावित क्षेत्रका लागि व्यवसायिक कृषि तथा पशुपालन परियोजना सुरु हुने चरणमा पुगेको छ ।

131596494_873742590031392_1947701123455582352_n
परियोजना सम्वन्धमा, युएनएचसीआरका दमक प्रमुख जेम्स सिल्टन मुण्डोले आज पथरी शनिश्चरे नगरपालिका कार्यालयमा कार्य अवस्था एवम् प्रगति समीक्षा बैठकमा बोल्दै परियोजनाको कार्य सुरु भएको बताउनु भयो । उहाँले कृषिका लागि १ थान पिकअप भेन र १ थान ट्याक्टर खरिद भएको र कृषि र पशु कार्यक्रमका लागि भौतिक निर्माणको काम केहि दिन भित्रैबाट सुरु भई डिसेम्बर महिनामा सक्ने योजना रहेको उल्लेख गर्नुभयो । उहाँले झापाको दमकमा निर्माण कार्य सुरु भएको पनि बताउँदै नगरपालिका कार्यालयको सहकार्यमा यसखाले कार्यक्रमले विपन्नहरुको जीवनस्तर उकास्न र कृषि र पशुपालन क्षेत्रको प्रवद्र्धन गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

131002483_438571227171630_5797418230584837714_n 2
भूटानी शरणार्थीहरुका लागि सन् १९९२ देखि सहायता पुर्याउँदै अएको यूएनएचसीआरको यही वर्षको डिसेम्बरमा कार्यक्रम सकिदैछ । दमक कार्यालयमार्फतको परियोजना डिसेम्बरसम्म मात्र सञ्चालन हुने भएपछि नगर प्रमुख दिलीपकुमार राईले बैठक सकेपछि अन्तिम बैठकका रुपमा युएनएचसीआर दमक प्रमुख जेम्सलाई खादा पहिर्याएर नगरमा विभिन्नखाले सहयोगका लागि धन्यवाद प्रकट गर्दै विदाई समेत गर्नुभयो । विभिन्नखाले सहायता प्रदान गर्ने क्रममा पछिल्लो पटक युएनएचसीआरले नगर अस्पतालका लागि ८५ लाखको लागतमा अत्याधुनिक ल्याव सहितको भवन समेत निर्माण जारी राखेको छ । बैठकमा कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा र कृषि शाखा प्रमुख सावित्रा कार्कीले परियोजनाले पार्ने प्रभावका बारेमा बोलेका छन् । दाताका तर्फबाट लिलबहादुर कार्कीले सन् २०२० मा नगरमा सहयोग उपलब्ध गराएका कार्यक्रमका बारेमा जानकारी प्रस्तुत गर्नुभयो ।


पथरी शनिश्चरे १० मा रहेका शरणार्थी र सो वडाका साथै आसपासका वडाका आर्थिक विपन्न स्थानीय समुदायको जीवनस्तर सुधार गर्न ‘भूटानी शरणार्थी र स्थानीय समुदायका लागि कृषि तथा पशुपालन परियोजना’ तय भएको हो । सन् २०२० को अन्त्यसम्ममा परियोजना सुरु गर्नेगरी युएनएचसीआरले १ करोड ३८ लाख ९६ हजार रुपैयाँ बजेट छुट्याएर भदौ ९ गते नगरपालिका कार्यालयसँग सम्झौता गरेको थियो । कृषक समूह निर्माण गरी खेतीका लागि आवश्यक औजार, बाख्रा, बंगुर र कुखुरा खरिद तथा तिनीहरुका लागि खोर तयार गर्ने तथा जग्गाको पहिलो वर्षको ठेक्का रकम सो बजेटबाट छुट्याइने छ ।


परियोजनाको कृषिका लागि वडा नम्वर ४ को भागिरथ माविको ३ विगाहा, बाख्रा तथा बंगुरपालनका लागि वडा नम्वर १० को जिरिखिम्ती र ऐयाबारीमा गरी ४ विगाहा र कुखुरा पालन र कृषिका लािग ९ नम्वरमा २ विगाहा गरी हालसम्म ९ विगाहा जग्गा व्यवस्थापन भएको छ । परियोजनाका लागि ६० घर परिवार भूटानी शरणार्थी तथा ४५ घर परिवार वडा नम्वर १०, ४ र ९ का समेटिने तय भएको छ । जसमा, वस्ती अन्तर्गत ५ परिवारलाई प्रति परिवार ६ वटा बंगुर, ५ परिवारलाई प्रतिपरिवार ७ वटा बाख्रा, १० परिवारलाई प्रतिपरिवार २ सय कुखुरा प्रदान गरिने छ । कृषि अन्तर्गत वडा नम्वर ४ को भागिरथ माविको ३ विगाहा जग्गामा १५ परिवारका लागि र ९ र १० मा गरी १० परिवारका लागि व्यवस्थापन गरिएको छ ।