काठमाडौं, २ पुस । काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली भोलि शुक्रबारदेखि हट्ने भएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर–बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकाल्दै उक्त नियम हटाउने सहमति भएको हो ।
जोर–बिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउने छन् । तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारदेखि लागू हुनेगरी जोर–बिजोर प्रणाली हटाउने निर्णय भएको छ’, उनले भने ।
कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोर बिजोर प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।
महासंघका महासचिव सरोज सिटौला लकडाउनपछि यात्रु पाउनै मुस्किल पर्ने सार्वजनिक सवारीमा अहिले कार्यालय समयमा ठूलो भीडभाड हुन थालेकोले जोर बिजोर हट्नु सकारात्मक भएको बताउँछन् । विगतमा भीडभाड कम गर्न जोर–बिजोर प्रणाली लगाए पनि अहिले अरु कुनै खालका प्रतिबन्धहरु नभएकाले अब जोर–बिजोर मात्रै लगाएर राख्दा सार्वजनिक सवारीमा जोखिम बढ्ने महासंघको भनाइ थियो ।



















