पथरी शनिश्चरे, १४ पुस । ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको स्थानीय तहबाट लगत संकलन सम्बन्धी कार्यविधि २०७७’ का बारेमा आज मोरङको पथरीशनिश्चरे नगरका वडा सदस्यहरुलाई जानकारी गराइएको छ ।
पथरी शनिश्चरे नगरपालिका कार्यालयको आयोजनामा १० वटै वडाका सदस्यहरुका लागि कार्यविधिका बारेमा जानकारी गराई भूमि आयोगले अघि बढाएको काममा सहयोग पुर्याउने सम्बन्धमा प्रष्ट्याइएको हो । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको छलफलमा आयोगले आफ्ना गतिविधि अघि बढाउने सन्दर्भमा थालिएको प्रक्रियामा नगर र वडामार्फत लगत संकलन सहितको सहयोग र सहजिकरणका सम्बन्धमा कार्यविधिको प्रावधान बारे जानकारी गराइएको छ ।
सहयोग र सहजिकरणका लागि नगर र वडामा समिति बनेको समेत नगर प्रमुख राईले जानकारी गराउनु भयो । साथै उहाँले पछिल्लो समय नगरको पहलमा भएका विकास निर्माणका कामका बारेमा पनि छोटकरीमा जानकारी दिनुभयो । कार्यक्रममा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।



















