भूमिप्रसाद पाठक,

पथरी । ईलाका प्रहरी कार्यालय (क) पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीको निर्धारित स्थानीय कार्यकाल र कार्यावधि सकेर सरुवा हुन लागेलगत्तै उद्योग वाणिज्य संघ पथरी शनिश्चरेले आज उहाँको नाम र सम्मानमा ‘फेरि भेटौला’ कार्यक्रम सम्पन्न गरेको छ ।  संस्थाका महासचिव अशोककुमार राईंको सारगर्भित सम्बोधन सहित सम्पन्न कार्यक्रममा अध्यक्ष दीपक बस्नेतले संस्थाको तर्फबाट सुन्दर शब्दचित्रअनुरुप तयार पारिएको मायाको चिनो हस्तान्तण गर्नेक्रममा प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीको कार्यकाल तुलनात्मक रुपमा सर्वथा भिन्न र अनुकरणीय रहेको दर्शाउँदै उहाँसँगको सहकार्य आफैंमा निकै अविस्मरणीय रहेको बताउनुभयो ।

139063803_255517455928407_6530107029855223989_n
कार्यक्रममा पथरी अस्पतालका निर्देशक इश्वर सापकोटाले उपहारस्वरुप तयार गर्नुभएको प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीको अर्धकदको चित्रपट र रेडस्टार अङ्ग्रेजी आवासीय माविका प्रिन्सिपल टीएन तिम्सिनाले प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीसँगको सहकार्यको उल्लेख्य पक्षको प्रशस्ती–वाचन सहितको सम्मान–पत्र समर्पण गर्नुभएको थियो । संस्थाका सल्लाहकार एवं राजनीतिक व्यक्तित्व युवराज बास्कोटाले यहाँबाट लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला सरुवा हुनुभएका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले पथरी शनिश्चरेको राम्रो पक्षलाई लिएर जानुहुने, त्यहाँ त्यस क्षेत्रमा व्यापक प्रचारप्रसार गरिदिनुहुने र त्यो गौतम बुद्धको जन्मस्थललाई यो ठाउँ र गाउँसम्मको प्रगाढ साइनो–सम्बन्ध जोड्नमा राज्यको तर्फबाट दूतको रुपमा रहेर अर्को पृथक खालको भूमिका समेत निर्वाह गर्नुहुने विश्वास सहित उहाँको उन्नति–प्रगतिको लागि शुभेच्छा व्यक्त गर्नुभयो ।

139066254_832265230888899_1106745102031040808_n


१३ महिना ५ दिनको आफ्नो स्थानीय कार्यकाल पूरा गरेर एउटा प्रक्रियाभित्र नवलपरासी जिल्लाको सहायक जिम्मेवारीमा जान लाग्नुभएका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले आफूले यहाँबाट कामका दौरान धेरै कुरा सिकेको स्मरण गर्नुहुँदै यो सिकाइलाई भविष्यमा पनि अनिवार्य प्रयोग गर्ने योजनामा रहनुभएको बताउनुभयो । कोभिड महामारीविरुद्धको लडाईं र लडाई जित्न अवलम्बन गरिएको सहकार्यको समय निकै प्रेरणास्पद रहेको सम्झँदै उहाँले आफूहरू देश र नागरिकको सुरक्षाका लागि उभिएका कारण जीवनकालमै कहीँ न कहीँ फेरि पनि यसखालको स्नेहपूर्ण भेटघाट अवश्य हुने विश्वास व्यक्त गर्नुभयो । उद्योग वाणिज्य संघको कार्यकक्षमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष यादवचन्द्र दुलाल, शिक्षक राजु तिम्सिना र बेदनीधि खनाल, स्थानीय व्यवसायी उद्धवबहादुर बस्नेत र रमेश गौतम र कार्यालय सचिव सम्झना तामाङलगायतको उपस्थिति रहेको थियो ।