पथरी शनिश्चरे, ७ माघ । मोरङको पथरी शनिश्चरे नगरमा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोगका लागि वडा वडामा फारम भर्ने बारेमा कर्मचारीहरुलाई अभिमुखिकरण गराइएको छ ।
नगरमा खडा भएको बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालयको आयोजनामा भएको अभिमुखिकरणमा १० वडाबाट ३,३ जनाका दरले नियुक्त कर्मचारी तथा वडा सचिवहरुलाई घर घरमा गएर फारम भर्ने विषयमा जानकारी गराइएको हो ।
नगर प्रमुख एवम् आयोगको पालिकास्तरको सहजिकरण समितिका संयोजक दिलीपकुमार राई, उपप्रमुख एवम् समितिका सहसंयोजक यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला सहितले फारम भर्ने विषयमा जानकारी गराउनु भयो ।
फारम २ प्रकारको हुनेछ । कँही कतै आफ्नो परिवारको नाममा जग्गा नभएकाले ‘सुकुम्बासी’ र अन्यत्र केही जग्गा समेत भएको तर १० वर्षअघिदेखि आफुले ऐलानीपर्ति जग्गा जोतभोग गर्दै आएकाले ‘अव्यवस्थित बसोबास’को फारम भर्नुपर्ने विषयमा जानकारी गराइएको छ । कार्यक्रममा, वडाध्यक्ष एवम् वडास्तरको सहजिकरण समितिका संयोजक तथा सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।



















