पथरी शनिश्चरे,
मोरङको पथरी शनिश्चरे ६ नम्बर वडा कार्यालयको सहयोगमा ७७ वर्षमाथिका २५ जना ज्येष्ठ नागरिकलाई आज सम्मानित गरिएको छ ।
ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र वडा समितिद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट वास्तोला, विशिष्ट अतिथिहरु कार्यवाहक वडाध्यक्ष चेतन खड्का, वडा सचिव मीनाकुमारी बर्मा, समन्वय केन्द्रका नगर अध्यक्ष नेत्रप्रसाद दहाल, शिक्षक कमलबहादुर कटुवालका साथै पर्शुराम कटुवाल सहितले ज्येष्ठ नागरिकलाई सम्मान प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वास्तोलाले ज्येष्ठ नागरिक जिउँदा भगवान भएकाले उहाँहरुको आदर र सम्मानमा नवयुवा पुस्ताले विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।
वडाको ६५ हजार रुपैयाँको बजेटमा काँसको थाल, पुरुषहरुलाई ढाका टोपी र महिलाहरुलाई दोसल्लामार्फत सम्मानित गरिएको हो । डम्बरबहादुर दर्जीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।



















