पथरी शनिश्चरे १४ फागुन । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले प्रकृतिको प्राकृतिकपनलाई दुरुस्त जोगाएर मात्रै पर्यापर्यटनको विकास गर्नुपर्ने बताउनु भएको छ ।
वन तथा भूसंरक्षण विभागको सामुदायिक वन अध्ययन केन्द्र काठमाडौंले पथरी शनिश्चरेमा आज आयोजना गरेको ‘वन उद्यम तथा पर्यापर्यटन नेटवर्किङ गोष्ठी’मा बोल्दै उपप्रमुख वास्तोलाले प्रमुख अतिथिका रुपमा सो कुरा बताउनु भएको हो ।
देशमै उत्कृष्ठ बनेको नगरको हरियाली सामुदायिक वन उपभोक्ता समूहको आतिथ्यतामा सम्पन्न गोष्ठीमा उहाँले पथरी शनिश्चरे नगरमा पनि पर्यापर्यटनको विकासका लागि नगरले साझेदारी कार्यक्रम अघि बढाउँदै गरेको जनाउनु भयो । उहाँले नियम कानूनको परिधिमा रही वनलाई उद्यमका रुपमा अघि बढाउँदै पर्यापर्यटनको विकासमा लाग्न सहभागिलाई शुभकामना समेत व्यक्त गर्नुभयो ।
डिभिजन वन भोजपुरका अधिकृत विष्णुलाल घिमिरे, सुनसरीका अधिकृत रामबहादुर श्रेष्ठले सामुदायिक वन र पर्यापर्यटनका बारेमा बोल्नु भयो । हरियाली वनका तर्फबाट केशव दहालले सो संस्थाले खडा गरेको कम्पनीका बारेमा जानकारी समेत गराउँदै संस्थाले तयार गरेको पर्यापर्यटनको बृहत डीपीआर प्रस्तुत गर्नुभयो । सामुदायिक वन अध्ययन केन्द्रका विष्णु ज्ञवालीले सहजिकरण गर्नुभएको गोष्ठीमा १ नम्बर प्रदेशका प्रति जिल्ला २ जनाका दरले सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी सहभागि थिए ।



















