पथरी शनिश्चरे,२८ फागुन । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको पछिल्लो बैठकले थप २ वटा ऐन पारित सहितको निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकमा स्वास्थ्य ऐन र सहकारी ऐन पहिलो संसोधन पारित गरी फागुन २८ मा हिउँदे अधिवेशनका रुपमा हुने आठौं नगरसभामा पेश गरिने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

सातौं नगरसभाबाट पारित कर दस्तुर सेवा शुल्कमा थपघट तथा केही छुट भएका शिर्षकहरु राजस्व परामर्श समितिबाट आएको परामर्शलाई पारित गर्दै नगरसभामा पेश गर्ने निर्णय पनि भएको उहाँले बताउनु भयो । नगरसभाको तयारीका क्रममा ३ दिनदेखि दैनिक जारी बैठकले हिजो संस्था दर्ता ऐन र कृषि व्यवसाय प्रवद्र्धन ऐन पारित गरेको थियो ।

बैठकमा, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला सहित कार्यपालिका सदस्यहरुले भोली हुने नगरसभाको बजेट तथा तयारीका विषयमा आआफ्ना राय पेश गर्नुभएको थियो । नगरसभा वन्दशत्रका रुपमा मात्र सञ्चालन गर्ने पनि निर्णय भएको छ ।

साथै बैठकले नगरपालिकाको आयोजनामा फागुन २४ गते पथरी बहुमुखी क्याम्पसमा सञ्चालन भएको १११ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवशको कार्यक्रममा भएको घटनाप्रति कार्यपालिको ध्यानाकर्षण भएको जनाएको छ । पथरी शनिश्चरे १० मा ०७७ पुस १४ गते अकस्मात रुपमा भएको एक युवाको मृत्युको घटनासँग जोडेर कार्यक्रममा सहभागि केहीले कार्यक्रमका एकजना अतिथि माथि गरेको दुव्र्यवहारले कार्यक्रममा समेत असर पुर्याएकोमा कार्यपालिकालाई दुःखी तुल्याएको उल्लेख गरिएको छ ।

मृत्यु सम्बन्धी घटनाको छानविनमा नगरपालिकाले सहयोग पुर्याउँदै आएको र अनुसन्धानबाट सत्यतथ्य चाँडै निर्काेल गर्न प्रहरी प्रशासन सहित सम्बन्धित पक्षसँग अनुरोध गरिएको बैठकमा उल्लेख छ ।