काठमाडौं । नेपाली कांग्रेसका सदस्य एवं पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्कघात भएसँगै गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा उपचाररत ५७ वर्षीय जोशीको मंगलबार निधन भएको अस्पतालले जनाएको छ।
गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जोशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसंग पराजित हुनुभएको थियो । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भने उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाउनुभएका जोशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बन्नुभएको थियो ।



















