दाङ । टिकटकका कारण कुनै सडक भाईरल बन्छ भन्दा अनौठो लाग्छ । अनि कुनै सडकमा बनाईएका टिकटक पनि त्यति नै भाईरल बन्छ भन्दा नपत्याउन सकिन्छ । तर, दाङको नारायणपुर हापुर सडकखण्ड अहिले टिकटकका कारण भाईरल भएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा टिकटक चर्चित हुँदै गएको पाईन्छ । सामाजिक सञ्जालले गर्दा धेरै कुराहरु भाइरल भईरहेको पाइन्छ । प्रायजसो अहिले सबैको मोबाईलमा टिकटक हेर्न पाईन्छ । टिकटक बनाउने र टिकटकमा रमाउने युवायुवतीको संख्या त झनै बढ्दै गएको छ । टिकटक बनाउनेको भिडका कारण दाङमा हिजोआज सडकनैं भाइरल भएको छ ।
जुन सडकमा टिकटक बनाउनकै लागि युवायुवतीहरु मरिहत्ते गर्छन् । यो सडकमा टिकटक बनाउनको लागि टाढा टाढाबाट युवायुवतीहरु यहाँ आउन लालयित हुन्छन र टिकटक बनाउनमै भुल्छन् र रम्छन् पनि । त्यसो त भाईरल सडक हेर्नकै लागि तन्नेरी र बुढापाकाहरु पनि यहाँ पुग्ने गरेका छन् ।
एक हप्ता यता यो दाङको घोराही उपमहानगरपालिका १० नारायणपुरदेखि रोल्पाको होलेरी जोड्ने सडकलाई एकछिन पनि फूर्सद छैन । टिकटक बनाउन युवायुवतीहरुको तछाडमछाड गरेको देख्न सकिन्छ । गाडि गुड्ने सडकमा नाच्ने, गाउँने अनि रमाउनेहरु आआफ्नै तरिकाले टिकटकमा अभिनय गरेर रमाएको देख्न सकिन्छ । कम्ती रमाईलो छैन महौल ।

हेर्नेहरुलाई नि अचम्मै लागि रहेको हुन्छ, गाडि गुड्ने सडकमा बनाएको टिकटक एकाएक कसरी भाईरल बन्यो ? अहिले घोराही नारायणपुरदेखि सिमलकुटीसम्म झण्डै ९ किलोमिटर सडक कालोपत्रे भएको छ । उक्त सडक अन्र्तगत पनि यो घोराहीको झुम्केटाडी निकै भाइरल भएको छ । खुलेको मौसममा समतल भू–भागबाट देखिने वरीपरीको हिमालको दृश्य, अनि यस्तो नागबेली सडक नियाल्न पाउँदा कसको पो मन न रमाउला र ? भिडियो बनाउनेहरु बनाउँछन् ।
सडकमा सुतेर टिकटकमा रमाउनेहरु रमाउँदछन् अनि क्यामरामा आफ्नो तस्वीर कैद गर्नेहरु आतुर देखिन्छन् । हेर्दा गाडि गुड्नका लागि भन्दा पनि टिकटककै लागि यो सडक बनाइएको हुनुपर्छ जस्तो लाग्छ ।
त्यसो त यो ठाउँमा यति धेरै चहल पहल भएपछि स्थानीयहरु पनि अचम्म परेका छन् । सडक कालोपत्रे र नागबेली भएकाले पनि एकछिन गाँडि रोकेर टिकटक बनाउन जो कोही आतुर देखिन्छ । अरुभन्दा शनिबार र विदाको दिन टिकटक बनाउन पालो पाईनसक्नु हुन्छ यहाँ ।
सडकमा टिकटक बनाउँनेको चहल पहल बढेसँगै दुर्घटना जोखिम पनि उत्तिकै बढेको देखिन्छ । सडक निर्माण सम्पन्न भएको ३ महिना नबित्दै टिकटक भिडियोको कारण सडक भाईरल हुँदा यहाँ आउने आन्तरिक पर्यटकको पनि भिड लाग्न थालेको छ ।
जसको कारण पर्यटकीय दृष्टिकोणले पनि यो ठाउँको विकास हुने देखिन्छ भने भाईरल भएको यो सडकले स्थानीयलाई केही आशा जगाएको पनि देखिन्छ । यस ठाउँको पर्यटकीय विकासको लागि स्थानीय निकाय तात्नु पर्ने देखिन्छ । त्यसैले पनि स्थानीयस्तरमा मात्र हैन देशब्यापी रुपमै आकर्षणकोरुपमा रहेको यो सडकमा टिकटक बनाउन तपाई पनि जाने हो की ? जनबोली पोष्टबाट



















