काठमाडौं,१३ चैत्र । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।

शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताएका छन् ।

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो । मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन् ।

को हुन् स्वर्गीय जोशी ?

जोशी काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरु गरेका थिए । उनी नेविसंघ काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सह महामन्त्री र महामन्त्री बनेका थिए । जोशी २०४८ सालको बुटवल अधिवेशनमा अध्यक्ष पराजित भएसँगै विद्यार्थी राजनीतिबाट पार्टीको राजनीति प्रवेश गरेका थिए ।

नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको छत्र छायाँमा राजनीति गरेका जोशी २०४९ सालमा काठमाडौं महानगरको उपमेयर भएका थिए ।

अनलाइन खबरबाट