पानीबाट चल्ने गाडी बनाउने नेपाली युवा वैज्ञानिक
काठमाडौं। पानीबाट गाडी कुदाउन सम्भव छ ? धेरैलाई असम्भव लागेको यही प्रश्नको उत्तर खोज्न कस्सिए स्टेन्ली मेयर्स। अनि यी अमेरिकीले विकास गरे- ‘वाटर फ्युल सेल’। यो प्रविधिअन्तर्गत पानीबाट हाइड्रोजन निकालेर त्यसलाई इन्धनका रूपमा प्रयोग गर्न सकिने उनको दाबी थियो। सन् १९९६ को घटना हो यो।
यो प्रविधिको विकाससँगै मेयर्सले आफू ८३ लिटर पानी प्रयोग गरेर लस एन्जलसदेखि न्युयोर्कसम्म पुगेको प्रचार पनि गरे। तर उनका कुरा धेरैले खण्डन गरे, पत्याएनन्। त्यसको दुई वर्षपछि मेयर्सको मृत्यु भयो। बेल्जियमका दुई लगानीकर्तासँग एक रेस्टुरेन्टमा गफ गर्ने क्रममा विष खुवाएर दाजुको हत्या गरिएको भाइ स्टेफनले आरोप लगाए।
तेल माफियाहरूको षड्यन्त्रमा उनको हत्या गरिएको हल्ला पनि चल्यो। तर अमेरिकी प्रहरीको अनुसन्धानले ४८ वर्षीय मेयर्सको मृत्यु ‘सेरिब्रल एन्युरिज्म’का कारण भएको औंल्यायो। प्रहरी रिपोर्टअनुसार उनलाई उच्च रक्तचापको समस्या थियो।
२०७२ सालको शक्तिशाली भूकम्पपछि पीडितका लागि देश-विदेशमा सहयोग संकलन भइरहेको थियो। भारतको बेंग्लोरमा पनि नेपाली विद्यार्थीहरू ‘हेल्प नेपाल बेंग्लोर’ संस्थामार्फत सहयोग जुटाउन खटिए। संस्थाका अध्यक्ष थिए- २७ वर्षीय इन्जिनियर शिशिर जीसी। संकलित रकमबाट पीडितका लागि ५ टन सामान खरिद गरेर उनी नेपाल आए।
यति बेला उनको इन्जिनियरिङ पढाइ पनि पूरा भइसकेको थियो। त्यसको केही समयपछि नेपालका राजनीतिक दलहरू एक ठाउँ उभिएर नयाँ संविधान जारी गरे। भारतले असहमति जनाउँदै नाकाबन्दी गरिदियो। भूकम्पको पीडामा रहेका नेपालीले अर्को मार सहनुपर्यो।
इन्धन र उपभोग्य वस्तुको अभाव ह्वात्तै चुलियो। चुलो बाल्नै मुस्किल पर्न थाल्यो। पेट्रोल र ग्यास लिन घण्टौं लाम बस्नुपर्ने। त्यो पनि कालोबजारियासँग महँगोमा किन्नुपर्ने बाध्यता थियो।
‘त्यो देख्दा मलाई हामी सधैं किन अरूसँग निर्भर हुने, आत्मनिर्भर हुन किन सक्दैनौं भन्ने लाग्यो,’ शिशिर भन्छन्, ‘नेपालले वार्षिक २ खर्ब ४३ अर्ब बराबरको पेट्रोलियम खरिद गर्दो रहेछ। त्यसबाट ३० देखि ४० प्रतिशत मात्रै बचत गर्न सके त्यसलाई देश विकासमा लगाउन सकिन्छ।’
इन्धनमा आत्मनिर्भर हुने विकल्प खोज्दै अघि बढ्दा उनको दिमागमा अचानक आइपुग्यो- पानी। जलस्रोतको धनी देशमा यो नै राम्रो विकल्प हुन सक्ने शिशिरले निष्कर्ष निकाले। यसका लागि उनै मेयर्सको ‘वाटर फ्युल सेल’ फर्मुला पछ्याए- पानीमा रहेको अक्सिजन र हाइड्रोजनलाई विच्छेद गर्ने अनि त्यही हाइड्रोजनलाई सहयोगी इन्धनका रूपमा प्रयोग गर्ने।
पानीको ‘मोलिक्युल्स’लाई विच्छेद गरेर इन्धन निकाल्न उनले आफ्नै डिभाइस बनाए- ‘सक्स डिभाइस’। अर्थात्, शिशिर्स हाइड्रोजन अक्सिजन डिभाइस (एसएचओएक्स)। आखिरमा पानीबाट ग्यास निकाली त्यसलाई पेट्रोल वा डिजेलमा मिसाएर गाडी चलाइछाडे। यसो गर्दा थोरै इन्धनले पनि पहिलेभन्दा बढी माइलेज दिन थाल्यो।
बुटवल घर भएका शिशिर मेकानिकल इन्जिनियर हुन्। उनले बुटवलमै जीसी रिसर्च एन्ड डेभलपमेन्ट प्रालि स्थापना गरेर यससम्बन्धी अनुसन्धान गरे। उनका अनुसार सक्स डिभाइसले पानीमा भएको हाइड्रोजन र अक्सिजनलाई छुट्टयाएर हाइड्रोजनलाई गाडीको इन्जिनमा र शुद्ध अक्सिजनचाहिँ गाडीभित्र पठाइदिने काम गर्छ।
‘यो प्रविधिबाट चारवटा फाइदा छन्। पहिलो त पैसाको बचत हुन्छ, गाडीको माइलेज बढ्छ। यसको प्रयोगबाट इन्धनमा हुने खर्चको न्यूनतम २५ देखि ३० प्रतिशत बचत हुन्छ,’ उनले भने।
शिशिरका अनुसार यो प्रविधिले गाडीभित्र पिस्टनमा रहेको भल्भमा अड्केको कार्बनलाई सफा गराइदिने, गाडीको पिकअप पावर बढाउने र इन्जिनलाई ‘स्मुथ’ गराइदिन्छ। गाडीबाट निस्कने कार्बनडाअक्साइड र हाइड्रोकार्बनको उत्सर्जनमा ६० प्रतिशतले कमी आउँछ। यसबाट प्रदूषण पनि कम हुन्छ।
यो प्रविधि विश्वका लागि पुरानो भए पनि नेपालका लागि भने पहिलो भएको शिशिर बताउँछन्। पानीबाट निस्कने इन्धन पेट्रोलियमको पूर्ण विकल्प भने होइन। यसले पेट्रोलियमको खपत केही घटाइदिने हो। ‘पानीबाटै गाडी चलाउने भन्दैमा पेट्रोल ट्यांकीमै पानी हाल्ने हैन। पानी सक्स डिभाइसमा हाल्ने हो,’ उनले भने, ‘डिभाइसले पानीलाई हाइड्रोजन र अक्सिजन ग्यासमा परिवर्तन गरिदिन्छ। त्यही ग्यास इन्जिनमा जाने हो। पानी सिधै इन्जिनमा जाने हैन।’
उनका अनुसार पानी सिधै गए इन्जिन बिग्रन्छ। शुद्ध हाइड्रोजन ग्यास इन्जिनमा गए त्यसले इन्धनका रूपमा काम गर्छ। गाडीको ‘लगेज कम्पार्टमेन्ट’मा यो डिभाइस सेट गरिन्छ। डिभाइसबाट एउटा पाइप ‘एयर फिल्टर’मा जोडिएको हुन्छ। ‘पेट्रोल ट्यांकीदेखि पेट्रोल र हाम्रो डिभाइसबाट ग्यास जान्छ। इन्जिनमा पुग्नुअघि उक्त ग्यास र पेट्रोल मिसिन्छ। त्यो इन्जिनमा पुगेपछि काम गर्छ,’ शिशिरले भने।
उनका अनुसार हाइड्रोजनलाई पेट्रोलभन्दा राम्रो इन्धन मानिन्छ। इन्जिनभित्र पुगेपछि हाइड्रोजन ग्यासको प्रज्वलनशीलता (कम्बसन) सय प्रतिशतसम्म हुन्छ, जुन पेट्रोलमा हुँदैन। हाइड्रोजन ग्यासले गाडीको पिकअप क्षमता बढ्नुका साथै इन्जिन हलुका हुन पुग्छ।
सक्स डिभाइसमा ४.५ लिटर पानी अट्छ। जसले पेट्रोलसँग मिलेर एकपटकमा ३५ सयदेखि ४ हजार किलोमिटरसम्म माइलेज दिने शिशिरले सुनाए। तर, यो पानी साधारण पानीभन्दा केही फरक हुन्छ। ‘डिस्टिलेसन गरेको पानीलाई ‘केमिकल्ली रिट्रिटेड’ गरिनुपर्छ,’ उनले भने, ‘यसले गर्दा रासायनिक प्रतिक्रिया छिटो हुन्छ।’
शिशिरले ‘सक्स डिभाइस’ को मूल्य ५० हजार रुपैयाँ तोकेका छन् भने ५ वर्षको ग्यारेन्टी दिएका छन्। डिभाइसका कारण गाडीको इन्जिनमा क्षति पुगे ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी पनि गरेका छन्।
सक्स डिभाइसबाट २५ देखि ३० प्रतिशतसम्म इन्धन बचत हुने गरेको पाइएको छ। अहिलेसम्म करिब ५ सयवटा गाडीमा यो डिभाइस जडान गरिएको छ। बाइक, स्कुटर, कार, ट्रकजस्ता सवारीसाधनसहित जेनेरेटरमा समेत सक्स डिभाइस लगाएर इन्धन बचत गर्न सकिने शिशिरले बताए।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पनि आफू चढ्ने गाडीमा यो प्रविधि प्रयोग गरेका थिए। ‘इन्धन कम खपत हुन्छ भनेर प्रयोग गरेको थिएँ। माइलेज पनि राम्रै थियो,’ उनले भने। हाल नेपाल प्रहरी र नेपाल आर्मीका विभिन्न गाडीमा ‘ट्रायल’ भइरहेको छ। डिभाइस प्रयोग गर्नेहरू सन्तुष्ट नै देखिन्छन्।
युथ फर नेपालका अध्यक्ष निकोलस भुसालले पनि चार वर्षदेखि यही प्रविधिबाट गाडी कुदाउँदै आएका छन्। ‘इन्धन कम खपत हुँदो रहेछ अनि सवारी चलाउन पनि सजिलो भएको छ,’ उनले भने, ‘पेट्रोलमा खर्च हुने रकमको २० देखि ३० प्रतिशत बचत भएको छ।’
यही डिभाइसकै कारण शिशिरले बेस्ट साइन्टिफिक इनोभेसन अवार्डलगायत धेरै पुरस्कार पाइसके। उनी अब यो प्रविधि सरकारमार्फत सर्वसाधारणसम्म पुगोस् भन्ने चाहन्छन्। निजी तथा कर्पोरेट क्षेत्रलाई दिँदा व्यावसायिक उत्पादन गर्न सकिए पनि यसबाट राज्यलाई योगदान होला भन्ने उनलाई लाग्दैन। त्यसैले ‘मास प्रोडक्सन’ गर्नुपर्ने प्रस्ताव लिएर मन्त्रालय पनि धाए। तर कसैले चासो देखाएनन्।
एक महिनाअघि प्रविधि क्षेत्रमा लागेका युवालाई प्रधानमन्त्री निवास बालुवाटारबाट निम्तो आयो। शिशिर बुटवलमै थिए। साँझ प्रधानमन्त्रीले समय दिएको जानकारी पाउनासाथ उनी तत्काल विमान चढेर काठमाडौं आइपुगे। युथ फर नेसनका युवासहित अवधारणा लिएर त्यहाँ पुगे। प्रधानमन्त्रीको सचिवालयले अवधारणापत्र त लियो तर केही दिनभित्रै फोन गर्ने भनेर फिर्ता पठाइदियो।
‘मसहित साथीहरू ठूलो आशाका साथ प्रधानमन्त्री ज्यूलाई भेट्न गएका थियौं,’ शिशिरले भने, ‘तर राम्रोसँग छलफल गर्नै पाइएन। फोटो खिचेर मात्रै फर्कियौं। पछि बोलाउँछौं भनिएको थियो तर अहिलेसम्म फोन आएको छैन।’ –ईकान्तिपुरबाट साभार




















