ताप्लेजुङ,१६ जेठ । सरकारले ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम परिवर्तन गरेको घोषणा गरेपछि मिश्रित प्रतिक्रिया आउन थालेका छन् । सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति अधिकाशंले विरोध जनाएका छन् । पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले सुकेटार बिमानस्थलको नाम परिवर्तनप्रति विरोध जनाएका छन् । फेसबुकमा प्रतिक्रिया दिदैं ‘ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नु भन्दा अघि त्यसको आवश्कयता ,औचित्यता, सान्र्दभिकता परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विर्मश गरी सहमति निर्माण हुनुपर्ने बताएका छन् । यस्तो छलफलले मात्रै सहभागितामूलक लोकतन्त्र बलियो हुने उनको भनाइ छ । ‘असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भने मात्रै सहि परिणाममा पुग्न सक्छ । अन्यथा, विवाद ,विभाजन र अनावश्यक तनाव मात्र झेल्नु पर्छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सरकारले शनिबार आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तुत गरेको बजेट सार्वजनिक गर्दै सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल र तेह्रथुमको चुहानडाँडास्थित विमानस्थलको नाम आङछिरिङ शेर्पा विमानस्थल नामाकरण गर्ने घोषणा गरेको थियो । सरकारले गरेको उक्त घोषणालाई अधिकांशले विरोध जनाएका छन् । विमानस्थलको नाम परिवर्तन प्रति असहमति जनाउँदै आइतबार अपरान्ह सर्वदलीय बैठक समेत आवहन गरिएको छ ।
सुकेटार विमानस्थलको नाम परिवर्तनको नागरिक स्तरबाटसमेत विरोध हुन थालेको छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका उपाध्यक्ष टंक श्रेष्ठले सामाजिक सञ्जालमा थातथलोको नाम सुकेटार परिवर्तन गर्ने प्रकृयाको विरोधमा आन्दोलनमा उत्रन आवहन गरेका छन् । नेकपा एमाले(ओली समूह)का जिल्ला सचिव दीपेन पोमूले सांकेतिक प्रतिक्रिया दिँदै ं‘मुकुम्लुङ पाथीभरा हुँदा कसैको टाउको दुखेन त ? मुकुक्लुङ पहिला कि पाथीभरा पहिला ? भन्ने प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसका युवा नेता जंग सुनुवारले सुकेटार विमानस्थलाई रवीन्द्र अधिकारी विमानस्थल बनाउनु पर्छ भने सिफारिस गर्ने को हो भनेर प्रश्न गरेका छन् ।
जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कीर्तिमान मादेनले थात्थलो र ऐतिहासिक पृष्ठभूमिको नाम सुकेटारलाई नामेट गर्ने कार्य उचित नहुने भन्दै सरकारको निर्णयको कडा प्रतिवाद गरेका छन् । स्थानीयले सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति आपत्ति जनाउँदै सरकार त्यो निर्णयबाट तत्काल पछि हट्नुपर्ने भनेका छन् । तत्कालिन पर्यटनमन्त्री रवीन्द्र र पर्यटन व्यवसायी आङ्छिरिङ सहित ६ जनाको २०७६ साल फागुन १५ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । सरकारले उनीहरुकै सम्मानमा दुबै विमानस्थलको नामाकरण गरेको दावी गरेको छ । तर उनीको मृत्युसंग सुकेटार विमानस्थलको कुनै सम्बन्ध नरहेको भन्दै अधिकांश स्थानीयले सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति असन्तुष्टि जनाएका छन् ।



















