पथरी,२७ असार। मोरङको पथरी शनिश्चरे ७ किर्तिपुरमा विगत ३ वर्षदेखि अलपत्र अवस्थामा रहेकी एक किशोरीको आज नगरपालिका कार्यालयले उद्धार गरी संरक्षण तथा उपचारका लागि ओरेक नेपाल विराटनगर पठाइएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, महिला तथा वालवालिका शाखा प्रमुख गीता कट्टेल सहितको टोलीले १६ वर्षीया किशोरीको उद्धार गरिएको हो । किशोरीको नगर अस्पताल र मोरङ अस्पतालमा एक्सरे तथा उपचारपछि नगरको एम्बुलेन्समार्फत ओरेक विराटनगर पुर्याइएको छ ।
भारतको नयाँदिल्लीमा काम गरी नेपाल फर्किएको अवस्थामा उनका बुवा अर्जुन थापालाई प्रहरीले पक्राउ गरी भारततर्फ लगेको र सानी आमाले समेत अर्काे विवाह गरेपछि वेसहारा वनेकी किशोरी विगत ३ वर्ष अघिदेखि स्थानीय वमत लिम्बूको घरमा सहारा लिएर बसेकी थिइन । उनीमाथि वालविवाहको समेत प्रयास भएको अवस्थापछि लिम्बूकोमा सहारा लिएर वस्दै आएकी थिइन् ।

नगरपालिकाले यस अघि वडा नम्बर २ मा रहेकी हिंसा पिडीत महिला र उनकी छोरीको यसैगरी उद्धार गरी संरक्षण तथा उपचारका लागि माइती नेपाल विराटनगरमा पठाइएको थियो ।



















