बिराटचोक,२५ साउन । मोरङको सुन्दरहरैंचा १० स्थित त्रिवेणी चोकको एक सुनचाँदी पसलमा अत्याधुनीक स्वचालीत हतियारसहित आएका लुटेरा समुहलाई पक्रन सफल प्रहरीलाई सुन्दरहरैंचा नगरपालिकाले सम्मान गरेको छ ।

सोमबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नगरपालिका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रसासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरे लगायत जनप्रतिनिधीहरुको टोलीले प्रहरीलाई सम्मान गरेको हो ।

प्रदेश नम्बर १ का प्रहरी प्रमुख अरुण कुमार बिसीसहित मोरङ प्रहरी प्रमुख जनार्दन जिसी, प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ, ईलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख सरोज खनाल लगायतलाई नगरपालीकाले सम्मान गरेको छ ।

शिव पञ्चायन ज्वेलर्समा साउन १ गते दिउसो स्वचालीत हतियार सहित लुटपाट गर्न आएका लुटेराहरुले ज्वेलर्स लुट्ने प्रयास असफल भएका थिए भने लुटपाट गर्न प्रयोग भएको एस.एम.जी. १ थान, अटोमेटिक पेस्तोल २ थान, ६८ राउण्ड गोली, ४ वटा मोटरसाईकलसहित ७ जनालाई प्रहरीले साउन १३ गते पक्रन सफल भएको थियो । नगरबासीको शान्ती सुरक्षालाई ध्यानमा राखी प्रभावकारी ढंगले प्रहरी परिचालन गरी लेटेरा समूहलाई पक्रन सफल भएकोले नगरपालिकाले प्रहरीको प्रशंसा समेत गरेको छ ।

नगरबासीलाई शान्ती सुरक्षाको तत्कालै प्रत्याभुती गराएको र व्यवसायीक प्रहरी नेत्रीत्व एवमं उच्च अपराध विश्लेशण क्षमताको कदर गर्दै नगद ५ हजारसहित प्रशंसा पत्र प्रहरीलाई नगरपालिकाले प्रदान गरेको थियो ।