केराबारी,१८ साउन । मोरङको केराबारी गाँउपालिकामा व्युटिसियन तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ । केराबारी गाँउपालिका,सामजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको त्रिपक्षिय आयोजनामा भएको ५६ दिने व्युटिसियन तालिम (तह १) को बुधबार सम्पन्न भएको हो ।
अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत अपाङ्ग भएका महिला वा तिनका परिवारका महिला सदस्यहरुलाई तालिम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत सुदर्शन दाहालले जानकारी दिए । उक्त तालिमबाट २० जना महिलाहरुले लाभ लिएका छन् ।

अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको संयोजक तथा गाँउपालिकाकी उपाध्यक्ष मनमाया मगरको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सुमन मिरिङचिङको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत सुदर्शन दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
तालिमको समापन कार्यक्रममा प्रशिक्षकहरुलाई प्रसंसा पत्र र प्रशिक्षार्थीहरुलाई प्रमाण- पत्र गाँउपालिका अध्यक्ष मिरिङचिङले वितरण गरेका थिए ।



















