पथरी,२४ साउन । पूर्व पश्चिम राजमार्ग स्तरोन्नती आयोजना अन्तर्गतको काँकडभिट्टा– लौकही सडकखण्डलाई ४ लेनको बनाउने बारे आज मोरङको पथरी शनिश्चरे नगरमा वातावरण प्रभाव मूल्याङकन सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

नगर प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षताको कार्यक्रममा पथरी शनिश्चरे खण्डमा पर्ने ५ किलोमिटर १ सय मिटर क्षेत्र अन्तर्गत पथरी चोकको जाँते मोडमा आकाशे पुल, सडकको दुवैतर्फ नाला, सार्वजनिक शौचालय, यात्रु प्रतिक्षालय, सडक बत्ती सहितको व्यवस्थापन सो आयोजनामा थप गरेर लानु पर्ने सुझाव दिइएको छ । त्यसका साथै, वडा नम्बर १० को जिरिखिम्ती टोलमा हालको सडक र नक्सा नमिलेको, धेरै उचाइको सडकलाई केहि होचो बनाउँदामात्र स्थानीयवासीलाई सहज हुने, जंगल क्षेत्रमा वन्यजन्तुलाई समेत संरक्षण र घाँसदाउरा गर्न जाने मानिस र गाइवस्तु पार गर्न सहज हुने हिसावले सडक निर्माण गर्नुपर्ने पनि सुझाव दिइएको छ ।
विश्व विकास बैकको ऋण सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत हुने सडकस्तरोन्नतीका लागि सुसुङ्ग इन्जिनियरिङ एण्ड कन्सल्टिङ सहितले वातावरण प्रभाव मूल्याङकनको काम गरेको हो ।
हाल २ लेनमात्र रहेको लौकहीसम्मको १२० किलोमिटरको सडक ४ लेन बनाउदा ग्रामिण क्षेत्रमा २४ मिटर, अर्ध सहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा ५० मिटर चौडाईको रहने कन्सल्टिङका सामाजिक विज्ञ रविन ढकालले जनाउनु भयो । केहि मुआब्जा समेत दिने गरी करीव २८ अर्बको लागतमा सडक निर्माण हुने इन्जिनियार सौरभ ढुंगानाले वताउनु भयो । जनावर विज्ञ प्रयाग ताम्राकारको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा, नगर उपप्रमुख देवीमाया काफ्ले, १ नम्बर वडाध्यक्ष भीमकुमार राई, २ नम्बर वडाध्यक्ष नैना राई, वडा सदस्य सुरेशकुमार कार्की, पूर्णबहादुर कार्की, १० नम्बर वडा सदस्य दिलबहादुर कार्की, पूर्व सदस्य अनोज घिमिरे, समाजसेवी युवराज वास्कोटा, डाँसमोरङगी सामुदायिक वनका अध्यक्ष मदन पोखरेल, सीताछधारे सामुदायिक वनका पूर्व अध्यक्ष शान्तिराम खड्का, महिला जागृति सामुदायिक वनबाट चन्द्रकला चेम्जोङ सहितले सुझाव सहितको धारणा राख्नुभयो ।




















